१४ बैशाख २०७७, काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन सुरु भएको छ ।संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर खरिदसम्बन्धी कागजात तथा विवरण उपलब्ध गराइदिन अनुरोध गरेसंगै छानबिन सुरु भएको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य सेवा विभागमार्फत विना प्रतिस्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनललाई स्वास्थय उपकरण खरिद गर्न दिएर आर्थिक अनियमितता भएको आशंका लेखा समितिले गरेको छ ।
सम्पूर्ण कागजात ७ दिनभित्र उपलब्ध गराइदिन समितिका सचिव डा सोमनाथ पाण्डेद्वारा हस्ताक्षरित पत्रमा उल्यख गरिएको छ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि सरकारले ओम्नी समूहसँग १ अर्ब २४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो । गत चैत २० गते सो समूहले जहाज चार्टर गरेर स्वास्थ्य सामग्री ल्याएको थियो ।
पत्रमा भनिएको छ, ‘स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकोमा सो खरिद सम्झौता रद्द गरिएको बुझिन आएकाले यस सम्बन्धमा समितिले छानबिन कार्य अघि बढाउन आवश्यक देखेकाले सो सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेको सबै कागजात ७ दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिन हुन निर्देशानुसार अनुरोध छ ।’