भक्तपुर । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले नवनियुक्त प्राचार्यहरुलाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज अफ ल’ मा नया“ प्राचार्यहरु नियुक्त भएको जानकारी दिदै ख्वप कलेज तथा शारदा क्याम्पसमा प्राचार्य प्रकाश कुमार श्रेष्ठ, ‘ख्वप मा.वि.’ तथा ‘शारदा क्याम्पस मा.वि.’ मा लक्ष्मीप्रसाद कर्माचार्य र ‘ख्वप कलेज अफ ल’ मा अधिवक्ता अनिता जधारी प्राचार्यको रुपमा नियुक्त भएको शुक्रबार मेयर प्रजापतिले जानकारी दिएका हुन ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष प्रजापतिले नेतृत्व व्यक्ति नभई संस्थाको नीतिअन्तर्गत चल्ने संयन्त्र भएको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले थुप्रै चुनौतीको सामना गर्दै निजी विद्यालय तथा कलेजहरुसँग प्रतिस्पर्धा गर्दै सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । २०५६ सालबाट सञ्चालित ख्वप सर्कलअन्तर्गतका कलेजहरु आज देशकै नमुना कलेजको रुपमा सञ्चालनमा रहेको बताउँदै प्रमुख प्रजापतिले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्ने अधिकार दिनुपर्नेमा जोड दिए । भक्तपुर नपाले विदेशी सहयोगविना नै अघिल्लो कार्यकालमा १ सय २४ भन्दा बढी सम्पदा पुनःनिर्माण गर्न सफल भएको बताउँदै अरुको भरमा बाँच्ने मानसिकताले हामीलाई परनिर्भर बनाउँदै लाने तर्क गरे ।
कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले २१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्न कलेज तथा विश्वविद्यालयहरुले अध्ययन तथा अनुसन्धानमा बढी जोड दिनुपर्ने धारणा राख्दै ख्वप मोडललाई अझ व्यवस्थित बनाई अगाडि बढ्न नपा क्रियाशील रहने बताइन । भक्तपुर दरबार क्षेत्रमा अवस्थित कला सङ्ग्रहालय रहेको न्ह्यकं झ्या दरबार प्राप्त प्रमाणको आधारमा मल्लकालीन शैलीमा बनाउनमा भक्तपुर नगरपालिका प्रतिबद्ध भई लागिरहेको बताइन ।
कार्यक्रममा नवनियुक्त प्राचार्यहरु प्रकाश कुमार श्रेष्ठ, लक्ष्मीप्रसाद कर्माचार्य र अनिता जधारीले आफूलाई प्राप्त जिम्मेवारी अग्रजको सल्लाह, सञ्चालक समितिको मार्गनिर्देशन र कलेजमा कार्यरत शिक्षक कर्मचारीहरुको साथ र सहयोगमा कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ख्वप कलेजका पूर्व प्राचार्य एवम् ख्वप कलेज एमबीएसका इन्चार्ज रुपक जोशीले कलेज स्थापनाकालमा आंशिक शिक्षकको रुपमा नियुक्ति भई, एमबीएस इन्चार्ज, उपप्राचार्य हुँदै १४ वर्ष भन्दा बढी समय ख्वप कलेजको प्राचार्यको रुपमा जिम्मेवारी बहन गरेको स्मरण गर्दै आगामी दिनहरुमा पनि ख्वप कलेजको समग्र विकासमा निरन्तर प्रतिबद्ध भई लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
