भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

असिनाले आलु बाली नष्ट, किसान चिन्तित

असिनाले आलु बाली नष्ट, किसान चिन्तित

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ का सुरज मोक्तानले १९ रोपनीमा आलु बाली लगाएका थिए । तर, शुक्रबार साँझ लगातार दुई घण्टाभन्दा बढी समय हुरीबतास र चट्याङसँगै परेको असिनाका कारण सबै नष्ट गरेको छ । “रु तीन लाखभन्दा बढी लगानी गरेर सो क्षेत्रफल जग्गामा आलु लगाएको थिएँ, असिनाले केही पनि बाँकी राखेन”, उहाँले भन्नुभयो, “अब आलु नष्ट भएको जमिन जोतेर अर्को बाली लगाउनुको विकल्प नै छैन ।” अर्का किसान अरुण कार्कीको पनि फलेको तरकारी असिनाले चुटेर नष्ट गरिदिएको छ । “शुक्रबार बिहानसम्म वारी तरकारीले हरियै देखिन्थ्यो”, उहाँले भन्नुभयो, “शनिबार बिहान हेर्दा जग्गा मात्रै देखें । विनाशकारी असिनाले सबै सोत्तर बनायो ।”

हुरीबतास र चट्याङसँगै परेको असिनाका कारण थाहा नगरपालिकामा व्यापक मात्रामा तरकारी बाली नष्ट भएको छ । थाहा नगरपालिकाको वडा नं २, ३, ४, ५ र ७ तथा कैलाश गाउँपालिकाको वडा नं ५ मा लगाइएको आलु बाली नष्ट भएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । वर्षको पहिलो नगदे बालीका रूपमा कृषकले आफ्नो सबैजसो जग्गामा आलुखेती लगाएका थिए । पहिलोपटक गोडमेल गरेर लहलह भएको आलु बालीमा असिना परेर सबै पात नष्ट भएको र मूल डाँठ मात्र बाँकी रहेको कृषकले बताएका छन् ।

यस क्षेत्रमा दुई हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाइएको आलु असिनाले चुटेर पूर्णरूपमा नष्ट भएको जनशक्ति कृषक सहकारीका राजकुमार केसीले बताउनुभयो । करोडौँ मूल्यको आलुखेती नष्ट हुँदा कृषक चिन्तित भएका छन् ।असिनाका कारण फल्ने बेला भएको आलु मात्र होइन, आलु बालीपछि खेतीका लागि तयार हुँदै गरेको काउली, बन्दा, खुर्सानीलगायत तरकारीको स–साना बेर्ना पनि सखाप भएको छ । ठूलो परिमाणमा परेको असिनाका कारण टनेलको प्लास्टिकसमेत प्वाल परेको कृषक अरुण कार्कीले बताउनुभयो । थाहा नगरपालिका–३ को घर्तीखोला क्षेत्रमा ठूलो मात्रामा परेको असिना २४ घण्टा वित्दासमेत पग्लिन सकेको छैन ।

छानामा जमेको असिनाको भारले घर्तीखोलामा केही घर र छाप्रासमेत भत्किएको वडा सदस्य भरत स्याङ्तानले जानकारी दिनुभयो । स्थानीयवासी शिक्षक दीपक कार्कीका अनुसार सो क्षेत्रमा परेको असिना २० वर्षयताको पहिलो हो । यसअघि विसं २०५८ तिर ठूलो मात्रामा असिना पर्दा किसानले लगाएको काउली, बन्दा नष्ट भएको थियो । अविरल असिना र हावाहुरीका कारण थाहा नगरपालिका क्षेत्रमा हिजो दिउँसोदेखि विद्युत् आपूर्तिसमेत बन्द भएको थियो । विद्युत् आपूर्ति बन्द हुँदा नेपाल टेलिकमको नेटवर्कमा समेत समस्या आएको थियो । अहिले पनि थाहा नगरपालिका–३ घर्तीखोला क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहेको स्थानीयवासीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.