काठमाडौं । दलहरुलाई निर्वाचन आयोगले आचारसंहितामा बाँधेपछि नाराजुलुस, पोस्टर, पम्पलेट छाप्नमा पूर्ण बन्देज लागेको छ । उम्मेदवार छनोट गर्न दलहरूले ढिलाई गरेपछि चुनावी प्रचारप्रसारको बजार नै सुस्ताएको हो ।
चुनाव केन्द्रीत सामग्री उत्पादन गर्ने व्यवसायी गर्नेहरू मर्कामा परेका छन् । विशेषगरी बागबजार क्षेत्रमा यस्ता चुनावी सामग्री उत्पादन गर्ने प्रमुख व्यापारिक केन्द्र बनेको थियो ।
यहाँ उत्पादित प्रचार प्रसार सामग्रीले देशव्यापी पकड जमाउने गथ्यो । रात दिन कामदारलाई भ्याइ नभ्याइ हुने गथ्र्यो तर अहिले भने सुस्ताएको छ । आर्थिक रूपमा चलायमान बनाउने दरिलो माध्यम बन्ने गरेको यतिबेला गतिहीन तरिकाले सुस्ताएको देखिन्छ ।
उम्मेदवारको चुनाव चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टी–सर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै पनि पहिरन तथा स्केच बनाउन नपाइने आचारसंहितामा उल्लेख गरेपछि यस्तो अवस्था आएको व्यवसायी बताउँछन् ।
जसका कारण आयोगको आचारसंहिताप्रति व्यवसायीले तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । आयोगले प्रचारको माध्यमलाई नियन्त्रण गर्न खोज्नु बेठिक भएको उनीहरूको भनाइ छ ।
विगतका चुनावको तुलनामा यसवर्ष चुनावी प्रचारप्रसारको समाग्री छाप्न ज्यादै कम अर्डर आएको व्यवसायीहरूको भनाइ छ । उम्मेदवारको टुङ्गो लागेपछि बजार केही सुध्रिने उनीहरूको आशा छ ।
यद्यपि उनीहरू आयोगले छानीछानी आफूहरूकै पेटमा लात मारेको ठहर गरेका छन् । पछिल्लो समय दलहरू सामाजिक सञ्जालमार्फत प्रचारप्रसारमा आकर्षित भएका छन् ।
गीतसंगीत, अडियो, भिडियोदेखि राजनीतिक दलका कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत सामाजिक सञ्जालबाट सार्वजनिक हुने गरेका छन् ।
