भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर | मलेसिया जाने श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी |

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा

मुख्य बुँदा

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध अख्तियारले मुद्दा दायर ।

भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलको नाममा रहेको भनिएको आईए तहको प्रमाणपत्र नक्कली भएको आयोगको दाबी ।

बढुवा तथा पदस्थापनका लागि विभिन्न शैक्षिक कागजात प्रयोग गरेको आरोप ।

ती कागजातका आधारमा राजपत्राङ्कित द्वितीय श्रेणीसम्म बढुवा भएको अख्तियारको ठहर ।

भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजायको मागदाबी ।

काठमाडौँ, ३ मंसिर । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा तथा पदस्थापन लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार विभागमा कार्यरत उच्च पदस्थ कर्मचारीले सेवा प्रवेश तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धान गर्ने क्रममा चौधरीले भारतको ‘बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल’बाट जारी भएको देखिने आईए तहको झुट्टा शैक्षिक प्रमाणपत्र प्रयोग गरेको पाइएको अख्तियारले जनाएको छ ।

चौधरीले बढुवा तथा पदस्थापनका लागि नक्कली प्राप्ताङ्कपत्र, अस्थायी प्रमाणपत्र, कलेज छाडेको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र र स्थानान्तरण प्रमाणपत्रलगायत कागजात पेस गरेको आयोगको दाबी छ । ती कागजातका आधारमा उनी राष्ट्रिय अनुसन्धान विभागको राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख अनुसन्धान अधिकृत पदसम्म बढुवा तथा पदस्थापन भएको र राष्ट्रसेवकका रूपमा पद, लाभ तथा सुविधा प्राप्त गरेको अख्तियारको ठहर छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चौधरीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको हो ।

आयोगले उनीमाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुनुपर्ने मागदाबी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.