असोजमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुग्यो ।
खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.०४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.४६ प्रतिशत ।
घिउ तथा तेलको मूल्य सूचकांक १६.४४ प्रतिशत र फलफूलको १५.४६ प्रतिशत बढ्यो ।
मधेस प्रदेशमा सबैभन्दा बढी ७.३७ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ५.१३ प्रतिशत मुद्रास्फीति ।
थोक मुद्रास्फीति पनि बढेर ७.२९ प्रतिशत पुग्यो ।
काठमाडौँ, ३ मंसिर । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ३७ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १ दशमलव ४७ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति पनि बढेर ६ दशमलव २२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर १ दशमलव ६७ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा दुवै समूहको मूल्यवृद्धि बढेको छ ।
गत आर्थिक वर्षको असोजमा २ दशमलव ५४ प्रतिशत ऋणात्मक रहेको खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति यस वर्ष बढेर ८ दशमलव ०४ प्रतिशत पुगेको छ । त्यस्तै, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८० प्रतिशतबाट बढेर ५ दशमलव ४६ प्रतिशत पुगेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेलको मूल्य सूचकांक सबैभन्दा धेरै १६ दशमलव ४४ प्रतिशत बढेको छ । फलफूलको मूल्य १५ दशमलव ४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११ दशमलव ८४ प्रतिशत, माछा तथा मासुको ८ दशमलव ९१ प्रतिशत, मरमसलाको ७ दशमलव ७१ प्रतिशत र तरकारीको ७ दशमलव २८ प्रतिशतले बढेको छ ।
गैरखाद्य तथा सेवा समूहमा यातायात उपसमूहको मूल्य सूचकांक १२ दशमलव ९७ प्रतिशत बढेको छ । त्यस्तै, मदिराजन्य पेय पदार्थको ८ दशमलव ८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७ दशमलव ०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६ दशमलव ०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ । असोजमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ६ दशमलव ६३ प्रतिशत बढ्दा सहरी क्षेत्रको ६ दशमलव २८ प्रतिशत बढेको छ ।
प्रदेशगत रूपमा मधेस प्रदेशमा मुद्रास्फीति सबैभन्दा बढी ७ दशमलव ३७ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ५ दशमलव १३ प्रतिशत छ । भौगोलिक क्षेत्रका आधारमा काठमाडौँ उपत्यकामा ५ दशमलव ९२ प्रतिशत, तराईमा ६ दशमलव ८८ प्रतिशत, पहाडमा ६ दशमलव १४ प्रतिशत र हिमालमा ५ दशमलव ५७ प्रतिशत मुद्रास्फीति रहेको छ ।
उपभोक्ता मुद्रास्फीतिसँगै थोक मुद्रास्फीति पनि बढेको छ । गत आर्थिक वर्षको असोजमा १ दशमलव ३२ प्रतिशत रहेको वार्षिक विन्दुगत थोक मुद्रास्फीति यस वर्षको असोजमा बढेर ७ दशमलव २९ प्रतिशत पुगेको छ । समीक्षा महिनामा उपभोग्य वस्तुको थोक मूल्य सूचकांक २ दशमलव ८७ प्रतिशत बढेको छ । मध्यवर्ती वस्तुको ९ दशमलव ९८ प्रतिशत, पूँजीगत वस्तुको ६ दशमलव ५६ प्रतिशत र निर्माण सामग्रीको ५ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ ।
भारतको तुलनामा पनि नेपालको उपभोक्ता मुद्रास्फीति बढी देखिएको छ । २०८३ असोजमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ३७ प्रतिशत रहँदा भारतमा सन् २०२६ अक्टोबरमा यस्तो दर ६ दशमलव ०९ प्रतिशत रहेको छ ।
