काठमाडौं । कोरोना महामारीका कारण रोकिएको माध्यामिक शिक्षा परिक्षा एसईई यस वर्ष चलिरहेको छ । बैसाख ९ गतेदेखि देशभर भौतिक रुपमै चलिरहेको एसईईमा शिक्षक, विद्यार्थी र परीक्षा निरीक्षकका आ–आफ्ना भोगाई र अनुभवका साथ सहभागि भएका छन् ।
यस बर्षको परिक्षाका लागि दुई हजार ७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको र परीक्षामा ११ हजार ६ सय १५ वटा बिद्यालयबाट नियमिततर्फ १ लाख ५७ हजार ९ सय १४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरि ५ लाख १४ हजार ९ सय ६७ जना परिक्षार्थी सहभागि भएको परीक्षा नियंन्त्रक अर्जुन रायमाझीले बताए ।
बर्षभरि पढाई नभएको कारण परिक्षार्थीहरुले कसरी परीक्षा दिएका छन् ? विद्यार्थीका अनुभव समेटेका छौं ।
एसईई परीक्षा दिने विद्यार्थीको भोगाई
राधिका शिल्पकार, विद्यार्थी
घरमै बसेर बिहान बेलुका पढेर एसईई दिइरहेकी छु । दसैँ भन्दा अगाडि स्कुलले अनलाइन कक्षाहरु सुरु गरेको थियो । तर त्यसमा सबै साथीहरुको गाउँमा घर भएको कारणले सबैको घरमा नेट थिएन । सोही कारण त्यो प्रभावकारी बन्न सकेन ।
त्यसबाट केहि पढ्न सकिएन । दसैँ पछि कोभिडको भ्याक्सिन आएपछि जोखिम अलि कम भएको कारणले हाम्रो स्कुल भौतिक रुपमा नै बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पढाई हुन थाल्यो । हाम्रो कोर्स महत्वपूर्ण पाठहरु सबै पढाएर सकियो ।
एक महिना जति परिक्षा तयारी कक्षाहरु पनि भए । हप्तामा एक पटक तयारी परीक्षा हुन्थ्यो । एसईईको डर पनि छ । एक वर्ष पढेर परिक्षा दिनु र ६ महिना पढेर दिनुमा कम अंक आउँछ कि भन्ने डर छ । यस्तै अनुभव छ एलिना अधिकारीको उनले भनेकी छन्, घरमा बसेर पुस्तकहरु पढेर गुगल, युट्युबबाट पढेर परिक्षा दिइरहेकी छु ।
स्कुलले नोटहरु लेखाइदिएको छ । त्यसलाई पढेर परीक्षाको तयारी भैरहेको छ । स्कुलले तयारी गराउने क्रममा भनेको सुरुमा हाम्रो अनलाइन क्लासहरु भयो । स्कुलमा पढाई हुने नै समयमा दिनभरि नै पढाई भयो । कार्तिक मंसिरबाट भौतिक रुपमा नै स्कुलमा पढाई सुरु भयो । र, बोर्डको जस्तै गरि प्रि–बोर्ड परीक्षा भयो ।
त्यसमा पनि राम्रो अंक आएको थियो । अझैपनि कोभिडको जोखिम पुर्णरुपमा हटेको छैन । संक्रमितहरु केही बढिरहेका छन् । अहिले पहिलाको तुलनामा अलि कम संक्रमित भन्ने मात्र हो । त्यसकारण डर नै नभएको भन्ने छैन ।
एउटा बेन्चमा २ जना साथीहरु राखेर परीक्षा दिइरहेका छौँ । अलि अलि कोभिडको डर छ । तर अवस्था पहिलेभन्दा धेरै सहज भइरहेको छ । त्यस्तै अनलाइन पढ्न मिल्ने मोबाइल पनि नहुदा परीक्षा बिग्रिने डर छ । त्यस्तै अनुभव सुनाए रतन थामीले उनले भने, एसईई परीक्षा दिन धेरै गाह्रो भएको छ ।
पहिलाको जस्तो राम्रोसँग पढाई हुन सकेन । स्कुल नै लगभग भदौबाट लाग्यो होला । त्यसकारणले स्कुल नलागी पढ्ने कुरा भएन । किनकि पुस्तकहरु नै थिएन । हाम्रो स्कुल सरकारी भएको कारणले गर्दा र साथीहरु गाँउबाट आउने हुदाँ अनलाइन पढाई प्रभावकारी हुन सकेन ।
हामी सबैसँग राम्रो अनलाइन कक्षा पढ्न मिल्ने मोबाइल फोन पनि छैन । पछि भदौबाट स्कुल लाग्यो । र, नियमित पढाई सुरु भयो । बैसाखमा भएको यो परीक्षाले खासै असर त नगर्ला । पहिला चैतमा हुन्थ्यो । पढ्ने बेलामा पनि एक महिना थपिएको थियो । तर हाम्रो लागि पढ्नलाई समय चाहि यो वर्ष अरुको तुलनामा कम भएको छ ।
यस्तै अवस्था सिर्जना कोइरालाको छ । किताबहरु पढेर नेट इन्टरनेट र गुगलबाट पनि पढेर परीक्षाको तयारीमा लगेका थियौँ । सरले लेखाइदिएको नोट पनि पढेर परीक्षा दिइरहेका छौँ । स्कुलले पहिला देखि नै अनलाइन क्लासहरुबाट पढाई भयो । पछि भौतिक रुपमा नै क्लासहरु सुरु भयो ।
बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पढाई भयो । नोटहरु लेख्ने र बेला बेला प्रि–टेस्टहरु गराएर तयारी भयो । अहिले भयावह नभएपनि ढुक्क हुने अवस्था छैन । परीक्षा दिन जादाँ आफैँले आफुलाई चाहिने सामग्रीहरु माक्स स्यानिटाइयजर आफैँ बोकेर हिड्छु । मलाई डर त कोभिडको भन्दा पनि परीक्षा बिग्रिन्छ कि भन्ने बढी छ ।
