भक्तपुर । इस्लामिक गणराज्य पाकिस्तानका स्वात स्थानीय सरकार प्रमुख एवं मेयर शाहीद अलीलगायतको प्रतिनिधिमण्डल भक्तपुर नगरपालिकाको भ्रमण गरेका छन् । भक्तपुर नगरपालिकाको सेवा प्रवाह एवम् असल अभ्यासहरुको अध्ययन गर्न स्वात स्थानीय सरकार प्रमुख एवं मेयर शाहीद अलीलगायतको प्रतिनिधिमण्डल भक्तपुर नगरपालिकामा पुगेको हो । े अवलोकन भ्रमणमा आएका टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार एक कार्यक्रमबीच पुष्पगुच्छा, खादा र भादगाउँले टोपीका साथ नगरपालिकामा स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुको भ्रमणहरुको आदानप्रदानले दुई देशको मित्रतालाई अझ प्रगाढ बढाउने विश्वास राख्दै नेपाली जनता र पाकिस्तानी जनताले धेरै विषयहरुमा समान समस्याहरु भोग्दै आइरहेको बताए ।
उनले सिन्धु प्रान्तमा आएको बाढीका कारण भएको क्षतिको घटना प्रति दुःख व्यक्त गर्नुहुँदै बाढी पीडित पाकिस्तानी जनताको सिघ्र पुनःस्थापनाको लागि पाकिस्तान सरकार र त्यहाँका स्थानीय सरकारहरुलाई सफलता मिल्ने विश्वास व्यक्त गरे ।
प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले स्थापना भएको कम्युनिष्ट पार्टी भएको बताउदै पार्टीको नेतृत्व नेपालका वरिष्ठ कम्युनिष्ट नेता का. नारायणमान विजुक्छें(रोहित)ले गर्दै आएको, २०७४ र २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकामा नेमकिपाका सबै उम्मेदवारहरुले जित हासिल गरेको अवगत गराएका बताए ।
सोही क्रममा भक्तपुर नगरपालिकाको संक्षिप्त परिचय दिदै प्रमुख प्रजापतिले विकास निर्माण र सम्पदा संरक्षणको काम नगरपालिकाले स्थानीय जनता परिचालन गरी गर्दै आएको र स्थानीय जनतालाई रोजगारीको सृजना, संरचनामा जनताको अपनत्व र गुणस्तरीय निर्माणको कारण भनपाले स्थानीय जनताको परिचालन गरी विकास निर्माणको काम सफलतापूर्वक सञ्चालन गर्न सम्भव भएको जानकारी दिए ।
उनले ‘उत्पादनका साधनहरु सामाजिकीकरण गर्ने, शिक्षा र स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने मान्यता अनुसार हामी जनप्रतिनिधिहरुले काम गर्दै आइरहेका छौं’ भने । त्यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको सेवाप्रवाह र सम्पदा पुनःनिर्माणको विषय समेटेर प्रस्तुतीकरण गरेकि थिइन ।
अन्तरक्रियामा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै उनले संविधान र कानूनले स्थानीय तहलाई प्रदान गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलगायत अन्य विकास निर्माणका कामहरु गरी जनताको सेवा गरिरहेको बताइन ।
भेटमा पाकिस्तानका प्रमुख शाहीद अलीले भक्तपुर नपाले गरेको सौहार्दपूर्ण स्वागतको लागि धन्यवादज्ञापन गर्दै नगरपालिकाको सेवा प्रवाह र संगठन स्वरुप तथा कार्यशैलीबाट आफू निकै प्रभावित भएको बताए । नेपाल–पाकिस्तानबीचको सम्बन्ध अगामी दिनहरुमा अझ सुमधुर रहने विश्वास प्रकट गर्दै उनले भक्तपुर भ्रमण निकै उत्साहप्रद र उपलब्धीपूर्ण भएको बताए ।
प्रस्तुतीकरणपश्चात भएको अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका प्रतिनिधिहरूले भक्तपुरको साक्षरताको अवस्था, भक्तपुर नपाबाट सञ्चालित कलेज तथा अन्य संघ संस्थाहरुमा महिला सहभागिता, नगरपालिकाको प्रशासनिक संगठन संरचना, भक्तपुर नपाको स्रोत तथा बजेट व्यवस्थापन र भक्तपुर नपा र देशका अन्य स्थानीय तहहरुबीचको अन्तरसम्बन्धबारे जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रमपश्चात प्रमुख प्रजापतिले पाकिस्तानका प्रमुख अलिलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नपाका केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेका थिए । उपप्रमुख जोशीले अन्य प्रतिनिधिमण्डललाई नपाको प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेकि थिइन । प्रतिनिधिमण्डले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप मावि, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ तथा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको स्थलगत अवलोकन भ्रमण गरेका थिए ।
उक्त भ्रमण टोलीमा खैबर पख्तुनख्वा र पन्जाब प्रान्तमा सञ्चालित जी.आई.जेड. पाकिस्तानको स्थानीय सरकार सहयोग कार्यक्रमका कर्मचारी र स्थानीय सरकारका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।
भ्रमणमा सहभागीहरुको नामावली यसप्रकार छन् :
