उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिँदै

उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिँदै

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आयोगले आज (शनिबार) उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दैछ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्य तालिका अन्तरगत वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज निर्वाचन चिन्ह प्रदान गर्न लागिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन चिन्हलगायतका कार्यहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने बताए ।

कार्यतालिकाअनुसार आयोगले वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ता समय रहेको थियो । उक्त समयमा दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरेर वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय रहेको थियो ।

आयोगले वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय तोकेको थियो भने वैशाख १५ गते उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियो । आयोगले शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने समय तोकेको थियो र शुक्रबार नै निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको थियो ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन् भने स्वतन्त्र रुपमा समेत उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । स्वतन्त्र हैसियतमा कुल १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारहरुले आयोगले तोकेको चिह्न पाउनेछन् ।

कुन दलले कति उम्मेदवार उठाए

निर्वाचन आयोगमा दर्ता भएका ७९ दल मध्येबाट केही दलका उम्मेदवार संख्या यहाँ प्रस्तुत गरिएको छ । आयोगकाअनुसार नेकपा एमालेले देशैभर सबै पदमा कूल ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले देशभर कूल ३१ हजार ४२५ जना उम्मेदवार बनाएको छ भने नेकपा माओवादी केन्द्रले कूल २२ हजार २७९ जना उम्मेदवार उठाएको छ ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा)ले ९ हजार ४८१ जना, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ ।

यसैगरी नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले देशभर कूल ११ हजार ३३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतारेको छ । शनिबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई आफ्नै पार्टीको चुनाव चिह्न प्रदान गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.