भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि

कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि

कञ्चनपुर । कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र अगालगीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हँुदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र मारिने क्रमसमेत बढेको छ । वन क्षेत्रमा अधिकांश आगलागीका घटना मानवीय कारण हुने गरेका छन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार ९९ प्रतिशत आगलागीका घटना मानवीय कारण हुने गरेका छन् भने एक प्रतिशत घटनामात्रै प्राकृतिक कारणले हुने गरेको छ । चुरोटका ठुटा, सलाइका काँटी वन क्षेत्रमा फाल्दा र गोठालाले जानीजानी आगो लगाउँदा तथा वन क्षेत्रमा वनभोज जानेले खाना पकाइसकेपछि आगो ननिभाउनेलगायत कारणले आगलागीका घटना हुने गरेका छन् । “गत वर्ष १५० हेक्टर वन क्षेत्रमा मात्रै आगलागी भएको थियो”, डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी अवस्थीले भन्नुभयो, “यस वर्षको अहिलेसम्म २०० हेक्टर वन क्षेत्रमा आगलागी भइसकेको छ ।

गर्मी मौसम अझै बाँकी रहेकाले हावाहुरी चल्ने क्रमसँगै आगलागीका घटनामा वृद्धि हुनसक्ने देखिएको छ ।” पानी नपरेका कारण पनि आगलागीका घटनामा वृद्धि हुँदै जान थालेको उहाँले बताउनुभयो । सामुदायिक वनका पदाधिकारी, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली वन क्षेत्रमा लागेको आगो निभाउने कार्यमा सक्रियरूपमा लागेका छन् । हालसम्म ३० भन्दा बढी सामुदायिक वन, लालझाडी संरक्षित वन, राष्ट्रिय वन क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आगलागीका कारण व्यापक क्षति भएको छ । आगलागीबाट बुट्यान, पुनः उत्पादन भएका बिरुवा, ढलापडा काठ, वन्यजन्तु र चराचुरुङ्गीको बासस्थानमा क्षति पुगेको छ ।

रातदिन नभनी वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा लागेको बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । “वनका उपभोक्तासहित पालो मिलाएर आगो नियन्त्रणमा लागेका छौँ”, उहाँले भन्नुभयो, “लाखौँ मूल्यको काठ जलेर नोक्सानी भएको छ । बाह्य क्षेत्रबाट काठ निर्यात गरेर ल्याउँदैछौँ ।” वन क्षेत्रमा लागेको आगोले गर्दा आयात गर्नेभन्दा बढी काठ जलेर नष्ट हुँदै आएको छ । वन क्षेत्रमा ढलापडा काठ नै सङ्कलन गरिने हो भने बाह्य क्षेत्रबाट काठ ल्याउनै पर्दैन । यसका लागि राज्यले नीति बनाउनुपर्छ ।

चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न भने चुनौतीको सामना गर्नुपरेको छ । भौगोलिक विकटता र आवश्यक सामग्री अभावमा चुरे क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न निकै समस्या भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अवस्थीको भनाइ छ । आगलागीका कारण वन्यजन्तु बस्तीमा छिर्दा मानव र जीवजन्तुबीचको द्वन्द्वसमेत बढेको छ । आगलागीका कारण वायु प्रदूषणको समस्यासमेत निम्तिएको छ । वायु प्रदूषणका कारण मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.