भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गाउँभरि केराखेती, तर बजार छैन

गाउँभरि केराखेती, तर बजार छैन

म्याग्दी । १५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका( २ खबरा गाउँभरि केराखेती गरिएको छ। तर उत्पादन भएको केराले बजार पाएको छैन।

हिउँदयाम लागेसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान बुद्धवीर परियारले बताए। ‘पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो’, उनले भने, ‘हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन।’

खबराका सबैले व्यावसायिक केराखेती गरेका छन्। यहाँ वार्षिक रू दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ। केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताए। धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनको भनाइ छ।

प्रति दर्जन १८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले १०० मा झरेको छ। बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताए। गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुईतीन दर्जनमात्रै बिक्री भएको उनले बताए। स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ।

खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा सापकोटाले जानकारी दिए। केराका अन्य परिकार बनाउने र सहकारीमार्फत संकलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उनले बताए।

बेनी नगरपालिकाको केरा पकेट कार्यक्रममार्फत खबरामा ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ। सोह्र हजारभन्दा बढी केराका गाँज छन्। बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताए।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्राङ्गरिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइडिया परियोजनासँग समन्वय गरेको उपप्रमुख लामिछानेले जानकारी दिए। रासस

 


Thali Mobile Pvt.Ltd.