२९ साउन २०७७ छेपाडी । दैलेखको आठबीस नगरपालिका वडा नं. ९ छेपाढीमा अवस्थित आडीखोला झरना प्रचार प्रसार र संरक्षणको पर्खाइमा छ । साविक सिहासैन गाविसको वडा नं. १, २ र ४ को बीचमा पर्ने यो झरना निकै सुन्दर र आकर्षक छ ।
चिसो पानी तथा अग्लो झरनाले गाउँको आकर्षण नै पुरा गरिदिएको छ । राम्रोलाई मनपराउने र आफ्नो बनाउने मानवीय स्वभाव अनुसार पछिल्लो समय चर्चामा आउन थालेको यो झरना प्रचार प्रसार नहुँदा ओझेलमा परेको थियो । राम्रो वस्तु, ठाउँ पहिचान, मौलिकता र अस्तित्वसँग जबरजस्त जोड्ने प्रचलन हो नै । यहाँ रहेका धेरै झरना मध्य यो झरना छेपाडीको मात्रै होइन देशकै आकर्षण बन्नेमा संकै छैन ।
अस्तित्व र पहिचनाको यो झरनाले पछिल्लो समय चर्चा मात्रै पाएको छैन, मौलिकता र पहिचान पनि बोकेको छ यसले । झरना हेर्दा निकै आकर्षक र मनमोहक भएकाले यहाँ पर्यटककीय स्थलको रुपमा विकास गर्न वडा, नगरपालिका, जिल्ला र प्रदेशले पनि ध्यान दिन जरुरी छ । झरना वर्षातमा धेरै ठूलो हुने र हिउँदमा ठूलोमात्रै हुने गर्नाले यसबाट झर्ने पानीको फोहोरा हेर्नेको भीड समेत लाग्ने गरेको छ ।
झरनाको चर्चापछि वडाको पनि चाँसो गएको छ । तर जति चर्चा परिचर्चा र प्रचार प्रसार हुनु पर्ने हो त्यति नभएपछि यो झरना ओझेलमा पर्न गएको स्थानीयले बताएका छन् । यस्ता झरना छेपाडी भित्र धेरै छन् । सेरीगाड झरना, दहझरना, बुडाखोला झरना, निचाल झरना, खोचाखोला झरना र धेरै ताल (गाड) हरु पनि छेपाडीमा धेरै छन् । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भित्राउन सक्ने महत्व बोकेका यी झरना र तालहरुले संरक्षण पाएका छैनन् ।
हेर्नुहाेस् भिडियाे…
वडा तथा नगरपालिकाको नीति तथा कार्यक्रममा उक्त झरना समेटिएका छैनन् । यदि यी झरनालाई नीति तथा कार्यक्रममा समेटेर संरक्षण गरिने हो र गाउँमा होमस्टे संचालन गरिने हो भने भारतको हिमान्चल प्रदेशको बराबर बनाउन सकिने लामो समय भारतमा बसेर कोभिडको बेला गाउँ फर्किएकाहरु बताउछन् । बडुवाल, कठायत, विश्वकर्मा र शाहीको बसोवास भएको यस गाउँमा यी झरना पहिचान पनि बन्न सक्नेमा दुईमत छैन ।
चैत–वैशाखमा घाम अस्ताउने बेलामा झरनाको ढुङ्गा आगोजस्तो रातो देखिने भएकाले झरना झन आकर्षकको केन्द्र हुने तर्क स्थानीयको छ । ‘झरना वडाको मात्रै सम्पती होइन, यो त नगरपालिकाको साझा सम्पत्ति हो । नजिकैबाट मध्यपहाडी लोकमार्ग विस्तार भएपछि यहाँका झरना पर्यटकीय गन्तव्य बनेका छन् । छेपाडी, पुर्छा, आका, लोकाने, राईढुंगा, विरेधौन, गाउँका मानिसको झरनामा रमाउन थालेका छन् ।
