चुनावमा भ्रम फैलाउने सामाजिक सञ्जालमाथि आयोगको कडाइ

चुनावमा भ्रम फैलाउने सामाजिक सञ्जालमाथि आयोगको कडाइ

मुख्य बुँदा

सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लङ्घन बढ्दै

भ्रामक भिडियो, तस्बिर र घृणास्पद अभिव्यक्ति फैलिँदै

उम्मेदवारी दर्ता र प्रचारमा आचारसंहिता उल्लङ्घन

निर्वाचन आयोगद्वारा सूक्ष्म निगरानी सुरु

एक हप्तामा आठ जनाविरुद्ध कारबाही प्रक्रिया

साइबर ब्यूरो र सामाजिक सञ्जाल कम्पनीसँग सहकार्य

काठमाण्डौ, १२ माघ । निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लङ्घनको नियमन चुनौतीपूर्ण बन्दै गएको छ। प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा सामाजिक सञ्जालको दुरुपयोग झन् पेचिलो बन्दै गएको हो।

सामाजिक सञ्जालमा विदेशी भारतीय नम्बर प्लेटका गाडीहरूको प्रयोग, उम्मेदवारको मानमर्दन हुने गरी नाराबाजी, भ्रामक भिडियो तथा तस्बिर प्रसारणजस्ता गतिविधि बढ्दै गएका छन्। यस्तै, उम्मेदवारी दर्ताका क्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने र तडकभडक गर्न नहुने निर्वाचन आचारसंहिता धेरै दल र उम्मेदवारले उल्लङ्घन गरेको पाइएको छ।

प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग, दलका झण्डा–ब्यानरसहित तस्बिर तथा भिडियो सार्वजनिक गर्नु तथा कतिपय दल र उम्मेदवारले राष्ट्रिय झण्डाको प्रयोग गरेपछि त्यसको दुरुपयोग भएको भन्दै आलोचना भइरहेको छ। यसैलाई मध्यनजर गर्दै निर्वाचन आयोगले आचारसंहिता पालना र सामाजिक सञ्जालमार्फत फैलाइने भ्रममाथि सूक्ष्म निगरानी भइरहेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावका बेला प्रवाह हुने मिथ्या, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिलाई निरुत्साहित तथा नियन्त्रण गर्न प्रभावकारी अनुगमन गरिने बताउनुभएको छ। उहाँका अनुसार २०७९ सालको निर्वाचनमा गरिएको पहललाई यसपटक अझ प्रभावकारी बनाइनेछ। एआईलगायत प्रविधिको प्रयोग गरेर विपक्षीको चरित्र हत्या गर्ने र नागरिकमाझ भ्रम फैलाउने प्रयास रोक्न सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

निर्वाचन आयोगका अनुसार पछिल्लो एक हप्तामा आठ वटा हानिकारक सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपाल, नेपाल प्रहरीको साइबर ब्यूरो तथा आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ।

आयोगले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक कम्पनीसँग सहकार्यलाई प्राथमिकतामा राखेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गलत, भ्रामक तथा गालीगलौजयुक्त अभिव्यक्तिले निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर असर पार्ने भएकाले त्यसको नियन्त्रणका लागि पहल भइरहेको छ।

यसका लागि आयोगले स्थापना गरेको सूचना सदाचार प्रवर्धन एकाइ पूर्ण रूपमा क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो। यस्तै, चुनावका बेला डिजिटल माध्यमको दुरुपयोग रोक्न गृह मन्त्रालयले नेपाल प्रहरीको साइबर ब्यूरोलाई प्रभावकारी रूपमा परिचालन गर्न पत्राचार गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले हिजो साइबर ब्यूरोको कार्यालय पुगेर अनुगमन तथा निर्देशन दिनुभएको छ। ब्यूरोलाई निर्वाचनसम्बन्धी साइबर गतिविधिको निगरानी, विश्लेषण र आवश्यक कारबाहीका लागि अनुसन्धान गर्ने कार्यादेश दिइएको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.