जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकको गम्भीर लापरबाही भेटिएको छ। बिरामीलाई चेकजाँच नगरेरै पित्तथैलीको शल्यक्रिया गर्दा ज्यान नै जोखिममा परेको हो । बिरामीले आफ्नै आधारमा झण्डै चार महिनाअघि गराएको चेकजाँचको आधारमा चिकित्सकले पित्तथैलीमा पत्थरीको शल्यक्रिया गर्दा ज्यान जोखिममा परेको हो ।
२०७८ फाल्गुन २८ गते चिकित्सकको सल्लाह बिनै बिरामीले जनकपुरधाम स्थित लक्की अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै चिकित्सकले शल्यक्रिया गरेको गम्भीर लापरबाही भेट्टाएको हो। चार महिना अघि अल्ट्रासाउण्ड गराएको र सोही आधारमा डा. अमरेश कर्णले भर्ना गरी डा. राजेश साह र आश्विनी यादवले शल्यक्रिया गरेको पाइएको छ ।
जलेश्वर नगरपालिका २ स्थायी घर भई हालः जनकपुरधाम उप–महानगरपालिकामा कोठा भाडा लिई बस्दै आएकी विभा चौधरीलाई तल्लो पेट दुख्दा स्वःस्फूर्त रुपमा अल्टासाउण्ड गराइन् । चेकजाँच गराएको रिपोर्टसहित बिरामी अस्पतालको टिकट काटेर चिकित्सकलाई देखाउँदा शल्यक्रियाको सुझाव दिए ।
विभाका श्रीमान राजेश चौधरीले भने, ‘जेठको अन्तिम सातामा ओपिडको सर्जनमा चिकित्सकलाई देखाउँदा रगत, छातिको एक्सरे, पिसाब जाँच इत्यादि गराउन लगाए । सबै जाँच गराइसकेपछि चिकित्सक डा. अमरेश कर्णले ले असारको ५ गते शल्यक्रियाको समय दिए । ५ गते एक वैवाहिक समारोहमा सहभागी हुन जानुपरेकाले ५ गतेको मिति सारेर १२ गतेको भर्ना र १३ गतेमा शल्यक्रिया गर्ने डा. राजेश साह, डा. अमरेश कर्ण र डा. आश्विनी यादवबीच सहमति भयो ।
सहमतिअनुसार विभालाई अस्पतालमा दाखिला गरी शल्यक्रियाका लागि भर्ना गराए । भर्नापछि तल्लो पेट दुख्ने समस्या बताउँदा डा. राजेश साहले फिजिकल इक्जामिनेशन लिएर सबै ठीक छ । अप्रेशनपछि सबै ठीकठाक भई हाल्छ भने । अरु टेष्टहरु गर्नुपर्छ होनि नि ? भनेर सोध्दा कुनै टेष्ट आवश्यक नपर्ने भनि १३ गते पूर्वनिर्धारित तालिकाअनुसार शल्यक्रिया गरेको विरामीका श्रीमानले भने ।
चौधरीले शल्यक्रिया पछि अवस्था नाजुक हुँदै जादा पिसाब, रगत, भिडियो एक्सरे चेकजाँच गर्दा विभाको गर्भमा चार महिने शिशु हुर्कदै गरेको जानकारी चिकित्सकले आफुलाई गराएको चौधरीको भनाइ छ। शल्यक्रियामा संलग्न चिकित्सक मध्ये डा. राजेश साह, आश्विनी यादव र शल्यक्रियाका लागि भर्ना गराएका डा. अमरेश कर्णले मध्ये तीनै जनाले आफ्नो शल्यक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताए।
एक चिकित्सकले अर्कोलाई दोषि देखाएर उम्किन खोजिरहेका छन् । शल्यक्रियामा प्रत्यक्ष संलग्न रहेका चिकित्सक डा. राजेश साहले आफुले शल्यक्रिया नगरेको अवस्था विग्रदा आफुले मानवताको हिसाबले मात्र हेरविचार र सल्लाह दिएको दाबी गरे।
उनले भने, ‘मेरो शल्यक्रियामा कुनै संलग्नता छैन, अवस्था नाजुक भएपछि मैले हेरिदिएको मात्र हुँ।’ डा. आश्विनी यादवले शल्यक्रियामा आफुले फोटोग्राफरको भुमिका मात्र निर्वाह गरेको दाबी गरे । उनले भने, ‘मैले बिरामीलाई अर्धचेत अवस्थामा भेटेको हुँ, वहाँको म जानु अघि नै सबै कुरा मिलिसकेको थियो ।
‘मैले त क्यामरा म्यानको रुपमा सहयोग मात्र गरेको हुँ।’ बिरामी भर्ना गरेका डा. अमरेश कर्णले भिडियो एक्सरे मान्यता प्राप्त चिकित्सकले गरेको आधारमा आफुहरुले भर्ना सहित शल्यक्रियाको प्रक्रिया अगाडी बढाएको बताए ।
हामीलाई गर्भवति भएको जानकारी पनि थिएन, हामीले सोधखोज समेत गरेनौं, तर शल्यक्रिया गर्ने चिकित्सकले खोज्नुपर्ने हो, तर खोजिएन किन खोजिएन वहाँलाई नै सोध्नुस् ।’उनले भने । गत विहिवार १६ गते एम्बुलेन्सबाट सम्भव नभएपछि एयर एम्बुलेन्सबाट काठमाण्डौं स्थित मेडिसिटी हस्पिटलमा नाजुक अवस्थामा बिरामी चौधरी उपचाररत छिन्।
