भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

चितवन । चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परी मृत्यु भएको हो। भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए।

सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक बनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परी मृत्यु भएको थियो। यस्तै रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीले आक्रमण गरी मृत्यु भएको उनले बताए।

सूचना अधिकारी तिवारीले सोही समयमा निकुञ्जभित्र चार वटा गैँडा मृत भेटिएका जानकारी दिए। यसमध्ये एउटा चोरी सिकारीले मारेका हुन् भने दुई वटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणबाट मरेका हुन्। मृत भेटिएका गैँडामध्ये दुई वटा भाले रहेका छन् भने दुई वटाको पहिचान हुन नसकेको उनले बताए।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म निकुञ्जमा २०४ वटा गैँडा मरेका छन्। तीमध्ये १०२ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुन सकेको छैन।

अहिलेसम्म मरेका गैँडामध्ये बुढो भएर र भिरबाट लडेर ६८ , दलदलमा परेर र बाढीले बगाएर १९ , आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ रहेका छन्। यस्तै सम्भावित चोरी सिकारीले सात वटा, विद्युतीय करेन्ट लागेर सात वटा, बिरामी भएर ११ , खाडलमा परी तीन वटा, विष सेवनबाट पाँच वटा र कारण नखुलेको २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.