मुख्य बुँदा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुने सांसद अग्रवालको विश्वास ।
सरकारले आन्तरिक तयारी र कूटनीतिक पहल गरिरहेको दाबी ।
विमानस्थल सञ्चालनका लागि सबै पक्षको साझा पहल आवश्यक रहेकोमा जोड ।
विमानस्थल नचल्दा व्यवसायीले आर्थिक समस्या भोग्नुपरेको भनाइ ।
प्रधानमन्त्रीको भारत भ्रमणबाट सकारात्मक खबर आउने अपेक्षा ।
बुटवल, २१ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभएको छ । विमानस्थल सञ्चालनका लागि सरकारले आन्तरिक तयारी र कूटनीतिक पहल गरिरहेको उहाँको दाबी छ ।
शनिबार चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवामा आयोजना गरेको निजी क्षेत्र तथा पर्यटन व्यवसायीसँगको छलफलमा सांसद अग्रवालले सरकार विमानस्थल सञ्चालनका विषयमा सकारात्मक ढङ्गले अघि बढिरहेको बताउनुभयो । सरकारले आवश्यक आन्तरिक तयारी गरिरहेको र आफूले पनि जनप्रतिनिधिका रूपमा संसद्, मन्त्रालय तथा विभिन्न कूटनीतिक नियोगमार्फत पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।
विगतका कमजोरीमा अल्झिनुभन्दा विमानस्थल सञ्चालनका लागि सबै पक्षले साझा पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निजी क्षेत्रलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै विमानस्थल सञ्चालन नहुँदा व्यवसायीले भोग्नुपरेका आर्थिक समस्याबारे आफू जानकार रहेको बताउनुभयो ।
विमानस्थल सञ्चालनमा आए समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणबाट विमानस्थल सञ्चालनका विषयमा सकारात्मक खबर आउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । आफूले संसद्मा पाँच पटकसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय उठाइसकेको पनि सांसद अग्रवालले बताउनुभयो ।
