भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

जहाँ बस्ती छ त्यहीँबाट डढेलो

जहाँ बस्ती छ त्यहीँबाट डढेलो

दमौली । गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ ।जिल्लाको व्यास नगरपालिका, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा डढेलो लाग्न थालेको उक्त कार्यालयका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ ।

“जहाँ जहाँ वनमा डढेलो लागेको छ, त्यो डढेलो बस्ती भएको ठाउँबाटै सुरु भएको देखिन्छ”, उहाँ भन्नुहुन्छ, यसको अर्थ मानिसले जथाभाबी रूपमा डढेलो लगाइरहेका छन् ।” “डढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रमका साथै प्रचारप्रसार गरिए पनि नियन्त्रण गर्न सकिएको छैन ।

यसका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतलाई पनि आग्रह गर्दै आएका छौँ तर स्वयम् व्यक्ति सचेत नभएसम्म पूर्णरुपमा रोकथाम गर्न सकिँदैन छैन,” कार्यालय प्रमुख काफ्ले भन्नुहुन्छ, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा पनि सल्किने गरेको छ ।”

मानिसहरूले घर नजिकैको स्थानमा गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै आगो लगाइदिने गरेका छन् । सोही आगो नजिकैको वनमा सल्किँदा डढेलोको रूप लिने गरेको छ । जिल्लामा त्यति ठूलोरुपमा डढेलो नलागे पनि फाटृफुटृरुपमा आगो लाग्ने क्रम जारी छ ।

वन कार्यालयका कर्मचारीले आगो लगाउँदै गरेको अवस्थामा केही व्यक्तिलाई भेटेर सम्झाउँदै पनि आएका छन् । “दुई दिन पहिला एक ८१ वर्षीय वृद्धले घर नजिकै पातपतिङ्गर जलाउँदै गरेको भेट्यौँ र उहाँलाई तत्कालै सम्झायौँ,” उहाँ भन्नुहुन्छ, ‘‘वनको डढेलो हामी सबैको साझा चुनौती भएकाले सबै मिलेर यसको सामना गर्नुपर्छ ।

वन डढेलोले तापक्रम बढाउनुका साथै वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्नाका साथै माटो नाङ्गो र कमजोर बनाइ भलको बहाव र गति बढाएर भूक्षय, बाढिपहिरो, डुबानजस्ता प्रकोप भएर धन, जन र सम्पदामा पनि क्षति पुर्‍याउँछ ।

वन कार्यालयले जिल्लाका आठ वटै सब(डिभिजनमार्फत सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । जिल्लाका दश वटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियति वन, छ धार्मिक वन छन् ।

 


Thali Mobile Pvt.Ltd.