तीन लाखबढी सुरक्षाकर्मी परिचालन

तीन लाखबढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी ३ लाखबढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । हाल, चारै सुरक्षा निकायले जिम्मेवारीअनुसार फिल्डमा अपरेसन सुरु गरिसकेको बताएका छन् ।

उनीहरूले मतदान र केन्द्र रहने स्थान रगस्तीसहित सूक्ष्म निगरानी थालिसकेका छन् । सरकारले निर्वाचनका लागि तीन तहको सुरक्षा घेरासहितको एकीकृत निर्वाचन सुरक्षा योजना बनाएर सुरक्षाकर्मी खटाएको हो । सरकारले बनाएको सुरक्षा योजनाअनुसार बाहिरी अर्थात् पहिलो घेरामा नेपाली सेना र दोस्रो तहको घेरामा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ ।

सशस्त्रले जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृत कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा पनि पाएको छ । मतदान र मतदान केन्द्रको भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी रहने छन् । सरकारले गत स्थानीय तह निर्वाचन र त्यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यस्तै सुरक्षा रणनीति कायम गरी सुरक्षाकर्मी खटाएको थियो । अघिल्ला निर्वाचनमा जस्तै तीन तहको सुरक्षा घेरामा सुरक्षाकर्मी रहने गृह प्रवक्ता फणिन्द्रमणि पोखरेले बताए ।

उनले भने, ‘प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहन्छ, सबैभन्दा बाहिर सेनाको सुरक्षा हुन्छ, त्यसपछि सशस्त्र प्रहरी र सबैभन्दा भित्र नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन्,’ गृह प्रवक्ता पोखरेलले राजधानीसँग भने, ‘राष्ट्रिय अनुसन्धान विभागबाट पनि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।’

अनुसन्धान विभागबाट परिचालित सुरक्षाकर्मी भने निर्वाचन सूक्ष्म निगरानी, अवस्था विश्लेषण र गोप्य सूचना संकलनमा केन्द्रीत रहने छन् । निर्वाचनका लागि ७५ हजार सेना परिचालन गरिएको छ । नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९३ तथा सशस्त्र प्रहरीबाट ३५ हजार सुरक्षाकर्मी खटाइएको उनको भनाइ छ । त्यस्तै, १ लाख १५ हजार म्यादी प्रहरीसमेत फिल्डमा खटाइएको छ । अनुसन्धान विभागबाट २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सेनाले पाएको जिम्मेवारीअनुसार निर्वाचन सुरक्षाका लागि सेना फिल्डमा परिचालन भइसकेको नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले जानकारी दिए । सैनिक प्रवक्ता सिलवालले भने । ‘सेनाले पाएको म्यान्डेटअनुसार फिल्डमा तैनाथ भइसकेको छ, ७७ वटै जिल्लामा सेना खटिसकेको छ ।’ नेपाल प्रहरी पनि निर्वाचनको आवश्यक सुरक्षा तयारीसहित फिल्डमा पुगिसकेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.