लेखक- लक्ष्मी खनाल
मानव जीवनलाई प्रभावित पार्ने विभिन्न रोगहरु प्रायः जसो जनावरबाट फैलिने गर्दछन् । जनावरसँगको सामिप्यताका कारण आँखाले देख्न नसकिने विभिन्न भाइरसहरु मानव जीवनमा सर्ने गर्दछन् र मानव–मानव बीचबाट एक अर्कामा सरेर आतंक मच्चाउने गर्दछन् । यस्ता भाइरसहरुले मानव जीवनमा ठूलो हलचल मच्चाउने गर्दछन् ।
यस्तै एउटा भाइरसका कारण अहिले विश्व मानव समुदाय नै आतंकित भइरहेको छ । चीनबाट फैलिएको कोरोना भाइरसले मानव जीवनलाई तहसनहस पारिरहेको छ । धेरैले ज्यान नै गुमाइसकेका छन् भने धेरै संख्यामा विरामी परिरहेका छन् । अहिलेको विश्व कोरोनाबाट आक्रान्त बनेको छ । यसको रोकथाम तथा नियन्त्रणका उपायहरु पनि भइरहेका छन् । कोरोना जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो ।
कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् । यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिनु आवश्यक छ ।
कोरोनाको उद्गमस्थल उत्तरी छिमेकी चीन र नेपालसँग खुला नाका रहेको दक्षिणको छिमेकी भारतबाट मात्र होइन तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्नेहरुबाट कोरोना नेपाल विस्तारै फैलिरहेकाेले स्वयम् नागरिक तथा राज्यका विभिन्न संयन्त्रहरुले यस बारेमा उच्च सर्तकता अपनाउन जरुरी छ ।
कोरोनाको कारण सर्वसाधारणमा फैलिएको त्रासको फाइदा उठाउँदै कालो बजारी गर्नेहरुलाई हदैसम्मको कारवाही गरिनु आवश्यक छ । विपदको समयमा सरकार संयन्त्रदेखि आम सर्वसाधारणहरुलाई सहयोग गर्नुको साटो कालोबजारी गरेर लुट्नेहरुलाई कुनैपनि हालतमा सरकारीले माफी दिनु हुँदैन । नेपालको समग्र स्वास्थ्य प्रणाली पनि अपेक्षित मात्रामा सबल नहुँदा आम मानिसमा यस भाइरसलाई लिएर त्रास फैलिएको देखिन्छ ।
आवश्यक सूचना र सचेतनाको अभावमा मानिसहरुमा यो रोगसँग सम्बन्धित थुप्रै भ्रमपनि व्याप्त छन् । यस्ता भ्रम छर्नेहरुको कारणले पनि आवश्यक भन्दा बढि सामग्रीहरुको जोहो गरेर राख्ने भएकोले बजारमा उपभोग्य वस्तुहरुको अभाव हुन जाने भएकोले त्यसतर्फ सर्वसाधारणहरु पनि सचेत हुनु जरुरी छ । चिकित्सकहरुका अनुसार सामान्यतया संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने खकार जन्य पदार्थहरु नजिकै रहेको व्याक्तिले स्वाश्प्रश्वाश मार्फत ग्रहण गर्दा यो भाइरस सर्ने गर्दछ ।
त्यसगरी संक्रमित व्यक्तिको शरीरबाट निस्केको विभिन्न खाले तरल पदार्थ रहेको रुमाल कपडा लगायतका समानबाट पनि सर्ने खतरा रहन्छ । संक्रमित व्यक्ति वा उसको शरीरबाट निस्केको तरल पदार्थ नाङ्गो हातले छोई, हात सफा नगरी नाक, कान, आँखा वा मुखमा हात लैजादा पनि यो भाइरस सर्ने गर्दछ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्याक्ति अलिक छिट्टै संक्रिमत हुने खतरा हुन्छ । त्यसैले खानपिनमा समेत विशेष ध्यान दिनु जरुरी छ ।
बेलैमा सावधानी अपनाउन सके यसको संक्रमणबाट जोगिन सकिने भएकोले पनि त्यता तर्फ ध्यान दिन जरुरी छ । चिकित्सकहरूले संक्रमणबाट बच्नका लागि घरबाट बाहिर सार्वजनिक यातायात एवम् भीडभाड एवम् कार्यस्थलमा जाँदा पञ्जा, मास्क आदिको प्रयोग गर्न सुझाव दिइसकेका छन् । त्यस्तै नियमित स्वस्थ, स्वच्छ शरीरका साथै घरायसी प्रयोगका सामानको नियमित सरसफाइ गर्नु आवश्यक छ ।
सन्दर्भ नेपालबाट फैलिएकाे ‘नमस्कार’
हिन्दु वैदिक समाजका साथसाथै बौद्ध, किरात, जैन र बोन सबै ओमकार धर्मालम्वीहरुको साझा संस्कार हो ‘नमस्कार’ । हाम्रा मौलिक धर्म र समाजहरुलाई जोढने एक प्रमुख संस्कार समेत हो ‘नमस्कार’ । वैदिक परम्परामा भगवानको स्तुति गर्नमा होस वा सामाजिक चालचलनमा यसको विशिष्ट पहिचान छ ।
धार्मिक अनुष्ठानहरु पनि नमस्कारबाट नै सुरुवात हुने गर्दछ । आज विश्वमा नै नमस्कार अर्थात नमस्ते गर्ने चलन विश्वव्यापी बन्दै गएको छ । यसको वैज्ञानिक तथा आधात्मिक महत्वका कारण पनि यसको महत्व झन झन बढदै गएको छ । नमस्कार गर्दा जो कोहि पनि प्रशन्न भई गर्दछन जुन सामाजिक मयार्दा, र सम्मानको प्रयाय हो ।
‘नमस्ते’ तथा ‘नमस्कार’
‘नमस्ते’ र ‘नमस्कार’ एक आपसमा पर्यावाची शब्द हुन । यसमा केहि शाब्दिक भिन्नता रहेको छ । व्याकरणको दृष्टिकोणमा नमस्ते एकवचन हो भने नमस्कार बहुवचन हो । नमस्ते सामान्यतया आफु समानको व्यक्तिलाई गरिन्छ भने नमस्कार आफुभन्दा ठुला गुरुजन र अभिभावक तथा सम्मानित व्यक्तिलाई गरिन्छ । नमस्कारको सांस्कृतिक अर्थ – नमस्ते र नमस्कार दुबै शब्द नम शब्दबाट आएको हो जसको अर्थ हुन्छ नमन गर्नु अर्थात झुक्नु वा सम्मान गर्नु ।
नमस्ते वा नमस्कार गर्दा हामी यो विचार राख्दछौँ कि तपाई म भन्दा सर्वश्रेष्ठ हुनुहुन्छ, म हजुरको सम्मान गर्दछु भन्ने जस्तो अर्थ लाग्दछ । नमस्कार शब्दको यस्तो गहिरो सामाजिक तथा संस्कृतिक रहस्य भएर नै होला जब हामी कसैसंग नमस्कार गरेर बोल्न थाल्दछौ तव हामीभित्रको क्रोधपना त्यत्तिकै हरायर जान्छ र हामी मित्रवत व्यवहार गर्न पुग्दछौ ।
यस्तो महान भावले युक्त नमस्कार पद्धतीकै कारण हाम्रो व्यवहारमा दया, क्षमा र विनय गुण व्याप्त रहेको छ । मानव शरिरमा नकारात्मक र सकारात्मक दुबै तत्व हुन्छ । जब हामि मुस्कुराएर नमस्कार गर्दछौ तव हाम्रो शरिरमा सकारात्मक उर्जाको संचार हुन्छ । नमस्कारको सामान्य शाब्दिक अर्थ अभिवादन हो र यसभन्दा बढी अरु पनि हो तर स्थान, समय, परिस्थिति अनुसार यसका विविध अर्थ हुन सक्छन् । यसका कायिक, वाचिक र मानसिक अर्थहरु सामयिक र पारिस्थितिक हुन्छन् ।
नमस्कारको एउटा ढिकुटी विद्यालय हो । अर्थगत रूपमा प्रथमिक तह र निम्न माध्यमिक तहका विद्यार्थीहरुको नमस्कार अभिधात्मक हुन्छ भने माध्यमिक तहभन्दा माथि यसको अर्थ अभिधात्मक र व्यञ्जनात्मक दुबै हुन्छ, तर तुलनात्मक रूपमा व्यञ्जनात्मक अर्थ बोकेको नमस्कारको प्रयोग अत्यधिक मात्रामा भएको पाइन्छ ।
हात मिलाउने चलन कोरोना सर्ने माध्यम
पश्चिमा देशहरुबाट भित्रिएको हात मिलाउने चलन कोरोना सर्ने माध्यम हो । त्यसैले अभिवादनको रुपमा प्रयोग गरिने हाम्रो संस्कृति ‘नमस्कार’ नै प्रयोग गर्नु आवश्यक छ । कोरोनाको संक्रमण फैलिएसँगै अधिकांश पश्चिमा देशहरुमा समेत नमस्कार मार्फत अभिवादन गर्न थालिएको छ ।
यसले के पुष्टि हुन्छ भने नमस्कार वैज्ञानिक छ । हाम्रा पूर्खाहरुले बसालेका अधिकांश चालचलन र संस्कृतिहरु वैज्ञानिक छन् । केही समय अघि मात्र अमेरिका राष्ट्रपतिको भारत भ्रमणमा उनको स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामक कार्यक्रमको आयोजना गरियो । यसैगरि गण्डकी प्रदेश सरकारले गतवर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटक लक्षित नमस्ते अभियान घोषणा गरेको थियो ।
अहिले विश्वमा नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिने सन्दर्भमा नमस्ते वा नमस्कार शब्दको चर्चा र यसको कार्यान्वयन हुने गरेको छ । विगतमा भेट्दा हात मिलाउने साथीभाइ पनि एकापसमा भेट्दा दुई हात जोडेर नमस्ते गर्ने गरेका छन् । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न चिकित्सकले अन्तर्वार्तामा भन्ने गरिएको संक्रमणबाट जोगिनका लागि कोही कसैसँग हात नमिलाएर नमस्ते गरौँ भन्ने सुझाव यतिखेर जनस्तरबाटै कार्यान्वयन हुन थाल्नु खुसीको कुरा हो ।
संघसंस्थाले पनि यतिखेर सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । व्यक्ति–व्यक्ति होस् वा समूह अहिले एकापसमा हात मिलाएर हैन नमस्ते गरौँ भन्ने भावना पनि जागृत हुँदै गएको छ । साथीभाइ भेटघाटमा हात मिलाउने, अङ्कमाल गर्ने जस्ता कुरालाई त्याग्दै नमस्कार गरेर अभिवादन गर्ने बानी बसालौं । – लेखक लक्ष्मी खनाल