काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूप जोगाउँदै हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालाहरूसमक्ष आग्रह गरेका छन्।
मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको सहभागितामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभई राष्ट्रिय गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे।
उनले यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्र पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा व्यक्त गरे। राष्ट्रपति पौडेलले सगरमाथा तथा अन्य हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल र अन्तर्राष्ट्रिय सहकार्य बढाउन यस्ता सम्मेलन महत्वपूर्ण हुने बताए।
उनले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गरे। “दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता हो,” राष्ट्रपति पौडेलले भने, “पर्वतारोहणबाट प्राप्त ज्ञानलाई सगरमाथाको संरक्षणमा उपयोग गर्न आवश्यक छ।”
सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा सफल आरोहण गरेसँगै सुरु भएको पर्वतीय पर्यटनको ऐतिहासिक महत्वबारे पनि उनले चर्चा गरे। राष्ट्रपतिले नेपालको नाम विश्वभर फैलाउन योगदान दिने कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति सम्मान प्रकट गरेका छन्।
