समस्याग्रस्त सहकारीको ऋण असुलीबाट बचत फिर्ता भइरहेको दाबी
राज्य कोष प्रयोग भएको भन्ने आरोपलाई समितिले अस्वीकार गर्यो
२० सहकारीका साना बचतकर्तालाई रकम फिर्ता प्रक्रिया जारी
१० हजार रुपैयाँभन्दा कम दाबी भएका बचतकर्तालाई प्राथमिकता
चक्रीय कोष अझै स्थापना नभएको स्पष्ट
सम्पत्ति व्यवस्थापन र ऋण असुलीबाट आएको रकम नै प्रयोग
कार्यविधि २०८३ अनुसार प्रक्रिया सञ्चालन भइरहेको
काठमाडौँ, १३ जेठ । सरकारले समस्याग्रस्त सहकारीहरूको ऋण असुलीबाट प्राप्त रकमबाट नै पीडित बचतकर्ताको बचत फिर्ता भइरहेको स्पष्ट पारेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै राज्य कोषको रकम प्रयोग भएको भन्ने गुनासो तथा भ्रम गलत भएको जनाएको छ।
समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारी संस्थाका १० हजार रुपैयाँभन्दा कम बचत दाबी भएका साना बचतकर्ताको बचत फिर्ता प्रक्रिया चरणबद्ध रूपमा अघि बढिरहेको छ। तर हालसम्म चक्रीय कोष (Revolving Fund) स्थापना भने नभएको समितिले स्पष्ट पारेको छ।
समितिले सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमलाई नै सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने काम प्रचलित कानुनी व्यवस्था अनुसार भइरहेको जनाएको छ।
मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार स्वीकृत कार्यसूचीको बुँदा–९९ कार्यान्वयन गर्दै “समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३” जारी गरिएको छ।
समितिले कर्जा असुलीलाई प्राथमिकतामा राखेर काम भइरहेको र सम्बन्धित सहकारीका ऋणीबाट असुल भएको रकम सोही सहकारीका बचतकर्तालाई फिर्ता गरिँदै आएको जनाएको छ।
