तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

मुख्य बुँदा

कृषि विकास कार्यालय तनहुँद्वारा संयुक्त प्राविधिक अनुगमन

म्याग्दे, बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा स्थलगत अध्ययन

धानमा मरुवा रोग र खैरो फड्के किराको प्रकोप पहिचान

तरकारी बालीमा डाउनी मिल्ड्यू रोग देखियो

उत्पादन घट्ने, मौसम र वर्षा असर प्रमुख समस्या

कृषकलाई रोग नियन्त्रण र विषादी प्रयोगबारे सुझाव

मल अभाव, बीउ गुणस्तर र हाइब्रिड बिउबारे गुनासो

आगामी दिनमा पनि अनुगमन जारी रहने

तनहुँ, १३ जेठ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषि सम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता रहेको थियो ।

त्यसक्रममा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखरा, प्रदेश कृषि प्रयोगशाला पोखरा, कृषि अनुसन्धान केन्द्र पोखरा तथा कृषि विकास कार्यालय तनहुँका प्राविधिक कर्मचारीहरूको संयुक्त टोली सहभागी भएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ ।

अनुगमनका क्रममा कृषकहरूले खेतीपातीमा भोगिरहेका समस्या स्थलगत रूपमा अवलोकन गरिएको थियो । खेतबारीमै पुगेर बालीमा देखिएका रोग तथा किराको पहिचान गर्नुका साथै त्यसको नियन्त्रण, व्यवस्थापन र उत्पादन वृद्धि सम्बन्धी प्राविधिक सुझाव प्रदान गरिएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए ।

उहाँका अनुसार म्याग्दे गाउँपालिका–२ मा धान बालीमा मरुवा रोग देखिएको पाइएको छ । धानको वृद्धि प्रभावित हुने तथा बोट सुक्दै जाने समस्या देखिएपछि प्राविधिक टोलीले रोग नियन्त्रणका लागि आवश्यक व्यवस्थापन विधिबारे कृषकलाई जानकारी दिए ।

म्याग्दे गाउँपालिका–३ मा धान बालीमा खैरो फड्के किराको प्रकोप देखिएको छ । उक्त किराले धानको बोटमा क्षति पुर्याई उत्पादनमा असर गर्ने भएकाले समयमै नियन्त्रणका उपाय अपनाउन कृषकलाई सुझाव दिइएको परियारले जानकारी दिए। आँबुखैरेनी गाउँपालिका–१ मा भने विभिन्न लहरे तरकारी बालीमा डाउनी मिल्ड्यू रोग देखिएको अनुगमन टोलीले पहिचान गरेको छ ।

विशेषगरी लौका, करेला, काँक्रा लगायतका बालीमा देखिएको उक्त रोगका कारण पात पहेँलो हुने, बोट कमजोर बन्ने तथा उत्पादन घट्ने समस्या देखिएको कृषकले बताएका छन् । प्राविधिकहरूले रोग नियन्त्रणका लागि खेत व्यवस्थापन, उचित विषादी प्रयोग तथा सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।

अनुगमनका क्रममा कृषकहरूले यस वर्ष पर्याप्त वर्षा तथा मौसम प्रतिकूलताका कारण गत वर्षको तुलनामा उत्पादन घटेको गुनासो गरेका थिए । लगातारको वर्षा, असिना तथा हावाहुरीका कारण धान, तरकारी र मकै बाली प्रभावित भएको कृषकहरूको भनाइ थियो ।

कृषकहरूले विषादी प्रयोग सम्बन्धी अन्योल, समयमा पर्याप्त रासायनिक मल उपलब्ध नहुने समस्या तथा वर्णशङ्कर (हाइब्रिड) जातको कानुनी नियमन सम्बन्धी जिज्ञासा समेत प्राविधिक टोलीसमक्ष राखेका थिए । उनीहरूले बजारमा पाइने बिउको गुणस्तर, विषादीको सही प्रयोग विधि र सरकारी नियमन प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।

सूचना अधिकारी परियारका अनुसार अनुगमन टोलीले कृषकसँग प्रत्यक्ष छलफल गर्दै समस्या समाधानका सम्भावित उपायबारे जानकारी गराएको छ । बाली संरक्षण, रोग तथा किराको पहिचान, सन्तुलित विषादी प्रयोग, माटो व्यवस्थापन तथा उत्पादन वृद्धि सम्बन्धी प्राविधिक पृष्ठपोषण दिइएको उनले बताए ।

“कृषकले खेतबारीमै भोगिरहेका समस्या बुझेर समाधानका उपाय दिनु नै कार्यक्रमको मुख्य उद्देश्य हो,” परियारले भने “प्राविधिक टोलीले रोग र किराको पहिचानसँगै तत्काल अपनाउनुपर्ने व्यवस्थापनका उपायबारे सुझाव दिएको छ ।”

कृषि विकास कार्यालय तनहुँले आगामी दिनमा पनि जिल्लाका विभिन्न क्षेत्रमा यस्ता संयुक्त प्राविधिक अनुगमनलाई निरन्तरता दिने जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.