“दलित” शब्द नै संविधानबाट हटाउनु पर्छ : बडुवाल

“दलित” शब्द नै संविधानबाट हटाउनु पर्छ : बडुवाल image

विभिन्न जात जाती धर्म र समुदाय बाट निर्मित समाजको एकीकृत रूप भनेको नै राष्ट्र हो । त्यसैले राष्ट्रको विकासमा  विभिन्न जात, जाती, धर्म, समुदाय र संस्कृतिको ठूलो भूमिका हुन्छ । जाती र धर्मको भेदभाव न गरी व्यक्तिको प्रतिभा र क्षमतालाई अवसर दिनु नै लोकतंत्र हो ।

एक मानिसले अर्कोलाई छुँदैमा पानी न चल्ने, जात जाने यो संकीर्ण सोचको प्रचलन नेपाल र भारतका हिन्दू समुदाय बाहेक संसारका कुनै पनि देशमा भएको पाइँदैन । हाम्रो देशको पुरानो इतिहास हेर्ने हो भने १३औं शताब्दी पछि यो प्रचलन हाम्रो देशमा भारतबाट आएको हो । भारतमा प्रचलित छुवाछूत कुप्रथालाई आर्यहरुले नेपाल भित्रिंदासँगै ल्याएर आएका हुन ।

देशको जनसँख्याको ठूलो हिस्सा आर्थिक रूपले शोषित, सामाजिक रूपले अपहेलित र राजनीतिक रूपले उपेक्षित  हुँदै आएको समुदाय नै दलित समुदाय हो । पानी न चल्ने, छोईछिटो, जातीय भेदभाव र समाजमा अछूत भनी पछाड़ी पारिएकाहरुलाई हाम्रो देशमा दलित वर्ग हुन भनी परिभाषित गरिएको छ ।

भारतमा दलितको शाब्दिक अर्थ हो ‘दलन’ गरिएको । अर्थात जसलाई शोषण र उत्पीडन गरिएको छ । रामचन्द्र वर्माले आफ्नो शब्दकोषमा दलितको अर्थ लेखेका छन – “थिचेको, कुल्चीमिल्ची गरिएको वा कुल्चीएको, दबाईएको र नष्ट गरिएको ।”

डॉ. भीमराव अम्बेडकरको आन्दोलन पछि यो शब्द हिन्दू समाजको सबैभन्दा तल्लो दायरामा हजारौं बर्षदेखि अस्पृश्य मानिने सबै जातिका लागि सामूहिक रूपमा प्रयोग भएको थियो । अब दलितको पद अस्पृश्य मानिने जातिको आन्दोलन धर्मको प्रतीक भएको छ । भारतीय संविधानमा यी जातिहरूलाई अनुसूचित जाति भनेर चिनिन्छ ।

दलित शब्द भनेको त्यतिबेलाका हिन्दुहरूको दुःखद मानसिकताको प्रतीक हो, जस अन्तर्गत तिनीहरूले सम्पूर्ण शारीरिक, मानसिक, आर्थिक, धार्मिक र नैतिक उत्पीडन गरेका थिए । भारतका गाउँहरूमा दलितहरूले अझै पनि कम्तिमा ४६ प्रकारको बहिष्कारको सामना गरिरहेका छन् जसमा मन्दिरमा प्रवेश देखि लिएर पानी साझा गर्ने सम्मका मामिलाहरू समावेश छन ।

जब हामी हाम्रो समाजको प्रकृति र अवस्थाको विश्लेषण गर्छौं एकातिर हामी पाउँछौं कि केही मानिसहरूको संसाधन र शक्तिमा एकाधिकार रहेको छ भने अर्को तिर बहुसंख्यक जनसंख्या संसाधन र शक्तिबाट वञ्चित छ । यसै कारणले हाम्रो समाजमा धेरै पिछडिएका वर्गहरू छन् ।

दक्षिण एशियामा आज भन्दा लगभग चार सय दशक पहिले यो समस्याको बिऊ रोपिएको पाइन्छ । विकास गर्दै आएका आर्यहरुको वर्ण विभाजनको अवस्थाले १३ औं शताब्दी पछि नेपालमा जरा फैलायो । अपमानित र असामाजिक कुरीतिको  वर्ण विभाजनको व्यवस्था नै दलित समुदायको उत्पत्तिको मुख्य कारण मानिन्छ ।

हातहतियार, झोला, जुत्ता चप्पल, भाँडा, गरगहना, कपड़ा बनाउने, गीत गाउँदै घर-घर हिड्ने र अन्य विविध जातीलाई जंग बहादुर राणा, राम शाह, जयस्थिति मल्ल जस्ता हिन्दू शासकहरुले तल्लो स्तरमा राखी जाती, छुवाछूत गरी अपमानित र अपहेलित गरिएका सन्तानहरुको जमात नै दलित समाज भनेर चिनिदै आयो ।

नेपाल एकीकरणको समयमा नेपाललाई हिन्दू राष्ट्र घोषित गरी पृथ्वी नारायण शाहले छुवाछूत प्रथा र जात-भातमा विभाजित गरी कानूनी रुपमा नै छुवाछूत प्रथालाई लागू गरी देशै भरी सलसली फैलाएका थिए । त्यतिबेलादेखि नै सबैले दलितरुलाई हेला होचो गर्ने र दबाई रहने मौक़ा पाई रहेका छन । दलित भन्ना साथ पहाडी भेगमा बसोबास गर्ने कामी, दमाई, सार्की, बादी र गाईने जस्ता जातीहरु मात्र दलित हुन भन्ने बुझाई भएको पाईन्छ ।

तर यी मात्र न भएर ती तराईका वृहत जातका समुदायलाई  गरेको छ जस अन्तर्गत पानी न चल्ने र छोईछिटो चल्ने कथित दलित समुदायमा धोबी, डूम, खटिक, तम्मा, पासी, कोरी, खत्वे, चमार मुसहर, मेस्ता, वाँन्ता, धरिकर, धन्कार आदि थुप्रै जाती पर्छन । हाम्रो देशको कुल जनसंख्याको १३ प्रतिशत भाग दलित समुदायहरुले ओगटेको छ ।

राणाकाल देखि लिएर पछि पनि विभिन्न कालखण्डमा खोल्न त कैयों संगठनहरु खोलिएका नै हुन । छुवाछूत र उत्पीडनका विरुद्ध कदमहरु उठाईएका नै हुन, तर दलित समुदाय उत्थानका लागि कार्यान्वयन पक्षमा प्रभावकारी भएको पाईएन । दलित उत्पीडनविरुद्ध केही व्यक्तिहरूले चासो देखाएता पनि सँगठित रुपमा खासै अगाडी नबढेको र दलितमा समानताको व्यवहार र परिवर्तन प्रभावकारी ढंगले आऊन न सकेको देखिएकै छ ।

समाज शिक्षित र परिवर्तित हुँदै गएता पनि मानवको मानसपटलमा कुसंस्कार, कुरीति, अमानवीय र असम्माननीय जस्ता सोचको भने परिवर्तन भएको देखिंदैन । उल्टो नराम्रा कुराहरुको जरो मोटाउँदै गएको देखिन्छ जसको ताजा उदाहरण हो जाजरकोट निवासी नवराज बिक र उनका साथिहरुको नृसंश हत्या ।

धर्ममा मात्र एक धर्म “परोपकार” र जातीमा मात्र दुई समुदाय ‘महिला’ र ‘पुरुष’ समुदाय बाहेक संसारमा कुनै जात र धर्म छैन ।  सबै धर्म र जात रूढ़िवादी विचारधारा बोकेका हिन्दू समाजको देन हो ।  संवैधानिक अन्त्य नै जातीय विभेद्को एकमात्र असल समाधान हुन सक्छ ।

जातिको आधारमा विभेद गरिनु हुँदैन, हामी नेपाली एक हौं, सबै बराबर छौं भन्ने बुद्धिजिविहरू न भएका होइनन तर खै त व्यवहारमा देखिएको ? यदि कामका आधारले दलित भएको छुट्याईने हो भने गैर दलितले पनि त त्यो काम गरेकै छन । जो दलितहरुले गर्ने गर्छन रे, जस्तै – कपड़ा सिउने, काठको काम गर्ने, गरगहना बनाउने, गीत गाउने आदि ।

त्यसो भए त एउटा गारमेन्ट उद्योगको मालिक, फर्नीचर उद्योगको मालिक, सुन चाँदीको काम गर्ने पसले र गायक गायिकाहरु सबै दलित हुनु पर्ने हो नि त ? तर खै त उनीहरुलाई हेपेको, दबाईएको, शोषण र उत्पीडन गरेको ?

छुवाछूतलाई कानूनमा मात्र सीमित गराऊँदा पनि स्थिति अझै यथावत छ । दलितका निम्ति आएको बजेट पहुँचवालाले मिलाएर खाने प्रवृत्तिका कारण दलितको चेतनामा कुनै सुधार भएको पाईंदैन । कतिपय दलित जातीय विभेदका घटना आफू माथि भैहाले पनि प्रहरी निकाय सम्म पुगेर उजुरी गर्न सक्ने अवस्थामा छैनन ।

दिनभरी काम गरेर साँझपख छाक टार्न नपुग्ने अवस्थाका दलितलाई शिक्षित र सक्षम बनी सरकारी सेवाको पहुँचमा पुग्नै गार्हो छ भनेर चुप्प लागी बस्ने समय छैन अब । आफै सक्षम र आत्मनिर्भर हुने बेला आई सक्यो, अब समयको माग हो “परिवर्तन” । शिक्षामा असीम शक्ति हुन्छ । आफु पनि शिक्षित बनौं र सबैलाई शिक्षित गराउने लक्ष्य बनाऔं । समाज शिक्षित भए परिवर्तन हुन्छ । शिक्षित भए मात्र रुढ़िवादी सोचलाई हटाउन सकिन्छ ।

दलित हूँ भन्ने हीन भावना बोकेर होइन, त्यसलाई त्यागेर अगाड़ी बढ्नु पर्ने आवश्यकता छ । दलितका हक, हित र अधिकारका लागि एकताबद्ध हुन जरूरी छ । गलत कुरा र गलत कामको विरोध गर्न सक्ने हौसला आफु भित्र विकसित गर्नु पर्ने आवश्यकता छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda