एजेन्सी । बेलायती सुरक्षाबलले रुसी तेल बोकेको र अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लङ्घन गरेको आशङ्का गरिएको एक छद्म तेल ट्याङ्कर नियन्त्रणमा लिएका छन् । बेलायतले यसलाई युक्रेन युद्धका लागि आर्थिक स्रोत जुटाउने रुसी प्रयासविरुद्धको महत्वपूर्ण कारबाहीका रूपमा व्याख्या गरेको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरले उक्त अभियानलाई रुसमाथिको थप दबाबको संकेत भन्दै युक्रेनमाथिको युद्धलाई सहयोग गर्ने गतिविधिविरुद्ध आफ्नो देश प्रतिबद्ध रहेको बताएका छन् ।
सात लाख ब्यारेल तेल बोकेको ट्याङ्कर नियन्त्रणमा
‘स्मिर्टोस’ नामक तेल ट्याङ्करमा करिब सात लाख ब्यारेल रुसी तेल रहेको बताइएको छ । क्यामरुनको झण्डामुनि सञ्चालन भइरहेको उक्त जहाज जुन ५ मा रुसको उस्त–लुगा बन्दरगाहबाट इजिप्टको पोर्ट सइदतर्फ गइरहेको थियो ।
बेलायती रक्षा मन्त्रालयका अनुसार रोयल मरिन्स कमान्डो तथा राष्ट्रिय अपराध एजेन्सी (एनसीए) का अधिकारीहरूले हेलिकप्टरमार्फत जहाजमा प्रवेश गरी नियन्त्रणमा लिएका थिए । अभियानमा युद्धपोत, सैन्य विमान तथा अन्य नौसैनिक साधनसमेत परिचालन गरिएको थियो ।
एक भारतीय नागरिक पक्राउ
कारबाहीपछि प्रतिबन्धसम्बन्धी अपराधको आशङ्कामा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । जहाजमा रहेका २४ जना चालकदल सदस्य भने जहाजमै रहेका छन् । उनीहरूमध्ये अधिकांश जर्जियाली र भारतीय नागरिक रहेको बताइएको छ ।
झण्डै छ घण्टा चलेको अभियानपछि ट्याङ्करलाई डोर्सेट तट नजिक नियन्त्रणमा राखिएको छ । बेलायती अधिकारीहरूले जहाजबाट वातावरणीय वा सुरक्षा जोखिम उत्पन्न नहोस् भनेर निगरानी जारी राखिएको बताएका छन् ।
प्रतिबन्ध छल्न प्रयोग हुने ‘छद्म ट्याङ्कर’
पश्चिमी प्रतिबन्धबाट बच्न पुराना जहाज प्रयोग गरेर सञ्चालन गरिने तेल ढुवानी सञ्जाललाई ‘छद्म ट्याङ्कर’ वा ‘शेडो फ्लीट’ भनिन्छ । यस्ता जहाजहरूले बारम्बार नाम परिवर्तन गर्ने, वास्तविक स्वामित्व लुकाउने, फरक देशको झण्डा प्रयोग गर्ने तथा अस्पष्ट कम्पनीमार्फत सञ्चालन हुने रणनीति अपनाउने गरेका छन् ।
रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि अमेरिका, बेलायत तथा युरोपेली मुलुकहरूले रुसी तेल निर्यातमाथि कडा प्रतिबन्ध लगाएका थिए ।
पश्चिमी देशको कडा सन्देश
बेलायतले प्रत्यक्ष रूपमा रुसी छद्म तेल ट्याङ्करसँग सम्बन्धित जहाजमा प्रवेश गरी नियन्त्रणमा लिएको यो पहिलो घटना मानिएको छ । सुरक्षा विश्लेषकहरूका अनुसार यस कदमले रुसको तेल व्यापार पूर्ण रूपमा रोक्ने सम्भावना कम भए पनि प्रतिबन्ध कार्यान्वयनमा पश्चिमी देशहरू थप आक्रामक बन्दै गएको स्पष्ट संकेत दिएको छ ।
कारबाहीपछि कम्तीमा छ वटा अन्य ट्याङ्करहरूले इङ्लिस च्यानल हुँदै तय गरिएको मार्ग परिवर्तन गरेको बताइएको छ ।
जेलेन्स्कीको स्वागत, रुस मौन
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलायतको कदमको स्वागत गर्दै यसलाई रुसको तेल कारोबारविरुद्धको महत्वपूर्ण कारबाही बताएका छन् ।
यता, रुसले घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । सुरक्षा विश्लेषकहरूका अनुसार प्रतिबन्धले रुसी तेल व्यापारलाई महँगो र जटिल बनाएको भए पनि रुसले अझै भारत र चीनजस्ता प्रमुख बजारमा छुट मूल्यमा ठूलो परिमाणमा तेल निर्यात गरिरहेको छ ।
विश्लेषकहरूको भनाइमा रुसले प्रतिबन्धको प्रभाव कम गर्न निरन्तर नयाँ उपाय खोज्दै आएको छ भने पश्चिमी मुलुकहरूले त्यसलाई रोक्न थप निगरानी र कारबाही तीव्र बनाइरहेका छन् ।
