कैदी हत्या प्रकरणमा ७ प्रहरीसहित १५ जनालाई जन्मकैद

कैदी हत्या प्रकरणमा ७ प्रहरीसहित १५ जनालाई जन्मकैद

किमाथाङ्का, ०२ असार । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदीको हत्या भएको घटनामा ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

जिल्ला अदालत सङ्खुवासभाले कारागारभित्र भएको सामूहिक कुटपिटका कारण दुई कैदीको मृत्यु भएको ठहर गर्दै दोषी ठहरिएका प्रहरी र कैदीबन्दीलाई जन्मकैदको फैसला गरेको हो । जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१) बमोजिम अभियुक्तहरूलाई जन्मकैदको सजाय सुनाएको छ ।

घटना २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा भएको थियो । मादी नगरपालिका–५ सङ्खुवासभाका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।

अनुसन्धानका क्रममा कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको र त्यसपछि सुरक्षाकर्मी तथा केही कैदीबन्दीले सामूहिक रूपमा कुटपिट गरेको खुलेको थियो । कुटपिटकै कारण दुवै जनाको मृत्यु भएको निष्कर्ष अनुसन्धानले निकालेको थियो ।

अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम दोषी ठहर भएका प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँका दरले मृतक विनोद तोलाङ्गी र आकाश बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।

अदालतको फैसलाअनुसार प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान पवनकुमार महतो तथा सुरक्षा गार्ड नुसन राईसहित सात जना सुरक्षाकर्मीलाई जन्मकैदको सजाय सुनाइएको छ ।

त्यसैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीबन्दी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि जन्मकैदको फैसला गरिएको छ ।

घटनापछि हत्या अभियोगमा कारागारका इञ्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो ।

तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अनुसन्धानका क्रममा पक्राउ परेका सात प्रहरीलाई धनकुटा कारागार र आठ कैदीबन्दीलाई तेह्रथुम कारागार पठाउन आदेश दिएको थियो ।

लामो न्यायिक प्रक्रियापछि अदालतले घटनामा संलग्न ठहरिएका १५ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.