१०औँ संस्करण कर्णालीमा गर्ने वाचासहित नवौँ राष्ट्रिय खेलकुदको भव्य समापन

१०औँ संस्करण कर्णालीमा गर्ने वाचासहित नवौँ राष्ट्रिय खेलकुदको भव्य समापन

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट भव्य समापन गरिएको छ । आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय खेलकुदलाई पोखराबाट बिदाइ गरिएको हो । विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशले १०औँ संस्करणको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ ।

नवौँको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई १०औँ राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरेपछि पोखराले बिदाइ गरेको हो । सांस्कृतिक झाँकी, मार्चपास र आतिशबाजीसहित नवौँको भव्य समारोहका बीच बिदाइ गरिएको छ ।

पोखरा रङ्गशालामा भरिभराउ दर्शकले खुसीयाली मनाउँदै समापन समारोहमा सहभागिता जनाए । असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका ३६ खेल भएका थिए । केही गुनासा, केही अभाव र अव्यवस्थाका बीचमा पनि गण्डकीमा आयोजना भएको राष्ट्रिय खेलकुद भव्य बनेको खेलकर्मीले बताए ।

चार दशकपछि आयोजनाको जिम्मेवारी पाएको गण्डकीले प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा छ हजारभन्दा बढी खेलाडीले खेल कौशल प्रदर्शन गरेका थिए । नयाँ–नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे र प्रतियोगिता सकियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक एक सय ७२ स्वर्ण पदकसहित च्याम्पियन बनेको छ ।

आर्मी लगातार तीन संस्करणमा च्याम्पियन बन्न सफल भयो । यसअघि सातौँ र आठौँ राट्रिय खेलकुदमा पनि आर्मी सर्वाधिक पदक जितेर च्याम्पियन बनेको थियो । प्रतियोगितामा सेनाले स्वर्ण एक सय ७२, रजत एक सय १० र ८९ कास्य गरी तीन सय ७१ पदक जितेर च्याम्पियन बनेको हो । पहिलोपटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो ।

यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण, ७२ रजत र ८२ कास्यसहित दुई सय १९ पदक जितेर द्वितीय भएको छ । नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कास्य र ७३ रजतसहित कूल एक सय ९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश चौथो तथा प्रदेशहरूमध्येमा पहिलो हुन सफल भयो ।

गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्यसहित एक सय २० पदकसहित समग्रमा चौथो भएको छ । बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदकसहित एक सय ४५ पदकसहित पाँचौँ स्थानमा रहन सफल भयो । प्रदेश नं १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदकसहित छैटौँ भएको छ ।

सुदूरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कास्यसहित ६३ पदक जित्न सफल भयो । एनआरएनएले १० स्वर्ण, नौ रजत र सात कास्य गरी कुल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक जितेको छ । मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कास्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले भने दुई स्वर्ण, चार रजत र १२ कास्यसहित १८ पदक हात पार्न सफल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.