काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन् । देउवाले एमाले अध्यक्ष ओलीतर्फ कटाक्ष गर्दै भने– ‘दार्चुला गएर कराउदैमा लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोल, होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो । भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’
षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएकोले त्यसका विरुद्ध गठबन्धन बनेको देउवाले बताए । शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’
सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथीहरू मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । उहाँलाई शेरबहादुर देउवा भनेर भोट हालिदिनुहोला ।’
पछिल्लो समय देउवा ओलीप्रति आक्रामक देखिएका छन् । एमाललेलाई सुदुपश्चिमबाट धपाउने गरी चुनावमा केन्द्रीत हुन देउवाले कार्यकर्तालाई निर्देशन दिए ।

