काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा ठगी धन्दाको रहस्य बाहिर आउने क्रम चलिरहेको छ । रकम फिर्ता गर्न भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस नेता तथा पूर्व सांसद आङटावा शेर्पालाई एक करोड दिएको पाइएको छ ।
खाँणबाट लिएको एक करोड शेर्पाले बिचौलिया सानु भण्डारीका दाई राजु भण्डारीलाई ३० लाख दिएर ७० लाख आफैले राखेको अनुसन्धानबाट खुलेको छ ।
खाँणले ठगीबाट प्राप्त गरेको रकप फिर्ता गर्न खोज्दा शेर्पाबाट खाँण उल्टो ठगीमा परेको तथ्य खुलेको हो । ठगीमाथिको ठगी भन्दै व्यङ्ग गर्न थालिएको छ ।
शेर्पाले चैतको तेस्रो साता बिचौलिया सानु भण्डारीका दाइ राजुलाई ३० लाख फिर्ता गरेको देखिएको छ । त्यसको व्यक्तिगत भर्पाई नै प्रहरीले बरामद गरेको छ ।
शेर्पाले खाणका पिए नरेन्द्र केसीमार्फत एक करोड लिएको खुलेको छ । तर, सरकारी वकिलको कार्यालयमा भने इन्कारी बयान दिएको दाबी छ ।
अहिले यो प्रकरणमा प्रहरीले अनुसन्धान गहिरो गरी गरिरहेको छ । खाँण, शेर्पा र केसी अहिले प्रहरी हिरासतमै छन् ।
