काठमाडौं । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचन सञ्चालनमा खटाइएका निर्वाचन अधिकृतहरुले सुविधा नलिने घोषणा गरेका छन्।
प्रदेश एकका निर्वाचन अधिकृत न्यायाधीश भरत लम्साल, प्रदेश २ का निर्वाचन अधिकृत न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, न्यायाधीश निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई,
लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत न्यायाधीश रीतेन्द्र थापा, सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिमका निर्वाचन अधिकृत न्यायाधीश जयानन्द पनेरुले अतिरिक्त सुविधा नलिने भन्दै निर्वाचन आयोगलाई पत्र लेखेका छन्।
२ वर्षयता कोरोना महामारीले देशको अर्थतन्त्रमा समेत असर गरेको र आफूहरु जिल्ला न्यायाधीशको संवैधानिक पदमा बहाल रहेको र त्यहाँबाट पारिश्रमिक, सुविधा प्राप्त भइरहेको भन्दै
सात निर्वाचन अधिकृतहरुले राज्यकोषलाई थप व्ययभार नपार्नका लागि निर्वाचन प्रयोजनमा खटिँदाको अतिरिक्त भत्ता नलिने घोषणा गरेका हुन्।
