काठमाडौं । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले उनको निधनको खबर पाउँदा आफूलाई धेरै दुःख लागेको बताएका छन् ।
देउवाले दिएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली जनताले रानीलाई मायापूर्वक सम्झिरहेको बताए ।
सन्देशमा भनिएको छ, ‘‘उहाँको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको छ, म राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’ रानी एलिजाबेथ द्वितीयले सन १९६१ र १९८६ मा दुई पटक नेपालको औपचारिक राजकीय भ्रमण गरेकी थिइन् ।
त्यसैले नेपाल र नेपाली जनताले रानी एलिजाबेथलाई नेपालमा मायापूर्वक सम्झिने गरिएको प्रधानमन्त्रीले बताए । रानीको बिहीबार ९१ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतमा सबैभन्दा लामो ७० वर्ष राजकाज सम्हाल्न सफल भएकी थिइन् ।
