भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभिर झरना

पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभिर झरना

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो ।गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगत वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झर्ना रहेको स्थानीयवासीले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् ।

गाउँपालिकाले यहाँ पुग्ने बाटो विस्तार गरेसँगै झर्ना वरिपरि पर्यटकलाई लक्ष्य गरेर विभिन्न संरचना निर्माण गरिदिएको छ । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गर्दछ ।झरनाबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक ११–१२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

पर्यटक झरनासम्मै पुगेर मनोरम दृश्यको रसास्वादन गर्ने गरेका छन् । झरनाको थप प्रचारप्रसार भएसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीय शिवकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “यो झरनामा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । गाउँपालिकाको केन्द्र तथा सदरमुकामबाट जनिकै रहेकाले पनि झरना हेर्न दैनिकजसो मानिस आउने गरेका छन् । यसलाई अझ प्रचारप्रचारमा ध्यान दिनसके गाउँपालिकाको लागि राम्रो आर्थिक स्रोत बन्न सक्छ ।”भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको पाइन्छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटर भित्र पर्छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् ।

टेम्केमैयुङ गाउँपालिकाको यो भेगमा पर्यटकीय क्षेत्र धेरै छन् । पर्यटकीय गन्तव्य चखेवा डाँडा तथा टेम्के डाँडा, मैयुङ डाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ । त्यस्तै गाउँपालिकाको वडा नं २ मा रहेको गोठेसिं होमस्टे पनि यही भेगमा पर्ने भएकाले घुम्न जाने मानिसको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्थानीयवासीको भनाइ छ । यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताको साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेत जानकारी दिनुहुन्छ ।
यसका लागि अञ्चल डाँडाबाट महभिर हुँदै चखेवा भञ्याङ र वडा नं ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हँुदै चखेवाभञ्ज्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।

त्यस्तै झरना आसपासमा ससाना दह निर्माण गरेर माछापालन तथा पार्क निर्माण गर्नाका साथै आगन्तुकलाई लक्षित गरेर खाजा, नास्ता खाने ठाउँको व्यवस्थापन गर्ने अध्यक्ष बस्नेत बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “पछिल्लो समय झरनामा आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढेको छ । यो झरनासम्म पुग्नका लागि हामी सहज आवागमनको व्यवस्था मिलाउने तयारीमा छौँ । यहाँ पुग्न पदमार्ग निर्माण गर्ने योजना छ । गुम्न आउने मानिसले यहाँका मुख्य पर्यटकीय क्षेत्र महभिर झर्ना, चखेवाभञ्ज्याङ, टेम्केडाँडा र मैयुङ डाँडा एकै प्योजकमा घुम्नसक्ने गरी संरचना निर्माण गर्ने योजना छ ।”

मुन्दुम पदमार्गले पनि यहाँका धेरै पर्यटकीय क्षेत्रलाई समेटेको छ । यसकोे पनि थप विकासमा ध्यान दिने अध्यक्ष राई जोड दिनुहुन्छ । महभिर झरनालाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमा राई उल्लेख गर्नुहुन्छ । यहाँ आवश्यक केही पूर्वाधार निर्माण भए पनि थप संरचना निर्माण गर्ने उहाँको भनाइ छ । टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भावना भएको गाउँपालिका रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने योजना रहेको उपाध्यक्ष राई चर्चा गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “हाम्रो गाउँपालिका पर्यटकीय हिसाबले निकै धनी छ । यहाँ दर्जनौँ पर्यटकीय क्षेत्र छन् । तिनीहरुको नमूनायोग्य विकास गरेर गाउँपालिकालाई पूर्वको एक पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्ने लक्ष्य छ ।”

 


Thali Mobile Pvt.Ltd.