काठमाडौँ, १८ कार्तिक । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका रसुवाका रेशमकुमार डंगोल नेपाली जनसम्पर्क समिति जापानको संयोजकमा मनोनीत भएका छन्। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले उनलाई जापानस्थित नेपाली जनसम्पर्क समितिको संयोजकको जिम्मेवारी दिएको हो।
समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले २०८३ कात्तिक १२ गते जारी गरेको मनोनयन पत्रमा डंगोललाई संयोजकमा मनोनयन गरिएको उल्लेख छ। आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा आयोजना गर्ने तयारी गरिएको पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन कात्तिक ३० गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले उनलाई उक्त जिम्मेवारी दिइएको पत्रमा जनाइएको छ।
डंगोलको राजनीतिक यात्रा भने विद्यार्थी राजनीतिबाट सुरु भएर जनआन्दोलनका चोट, आक्रमण र अपहरणका घटनासम्म पुगेको छ। लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा प्रहरी तथा सेनाको आक्रमणबाट उनको हात भाँचिएको थियो। २०६४ सालको संविधानसभा निर्वाचनअघि माओवादी आक्रमणमा परी घाइते भएका उनी निर्वाचनको अघिल्लो रात अपहरणमा समेत परेका थिए।
विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा
रसुवाको नौकुण्ड गाउँपालिकामा जन्मिएका डंगोलले निर्कुभूमि माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी संघको इकाइ सभापतिको जिम्मेवारी सम्हाल्दै विद्यार्थी राजनीति सुरु गरेका थिए। त्यसपछि भक्तपुर बहुमुखी क्याम्पसको नेविसंघ इकाइ सभापति र रसुवा जिल्ला नेविसंघको उपसभापति भएर संगठनात्मक जिम्मेवारी निर्वाह गरे।
२०६२/६३ को जनआन्दोलनमा उनी सक्रिय रूपमा सहभागी भएका थिए। लोकतन्त्र र नागरिक स्वतन्त्रताको पक्षमा भएको आन्दोलनका क्रममा प्रहरी तथा सेनाको आक्रमणबाट उनको हात भाँचिएको थियो। आन्दोलनमा गम्भीर घाइते भएका उनलाई ‘जिउँदो सहिद’ (ख वर्ग) का घाइतेका रूपमा समेत चिनिने गरिएको छ। नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघले सञ्चालन गरेका विभिन्न आन्दोलनमा सक्रिय रहेका डंगोलले २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा थप कठिन परिस्थिति सामना गर्नुपर्यो।
निर्वाचनअघि माओवादी आक्रमणमा परी घाइते भएका उनी निर्वाचनको अघिल्लो रात अपहरणमा समेत परेका थिए। यी घटनापछि उनी जापान पुगे पनि नेपाली कांग्रेसप्रतिको राजनीतिक आस्था र संगठनप्रतिको लगावलाई निरन्तरता दिँदै आए।
जापानमा संगठन निर्माणदेखि संयोजकसम्म
जापान पुगेपछि डंगोल त्यहाँ रहेका नेपालीलाई संगठित गर्ने अभियानमा सक्रिय भए। नेपाली जनसम्पर्क समिति शिजुओकाको संस्थापक संयोजक बनेर उनले प्रवासमा संगठन निर्माणको काम सुरु गरेका थिए।
त्यसपछि नेपाली जनसम्पर्क समिति जापानको कार्यसमिति सदस्य हुँदै महामन्त्रीको जिम्मेवारीसमेत सम्हाले। लामो समयदेखि जापानमा रहेर कांग्रेसको संगठनात्मक गतिविधि र नेपाली समुदायसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएका उनलाई अहिले संयोजकको जिम्मेवारी दिइएको हो। मनोनयन पत्रअनुसार अब उनले जापानस्थित नेपाली जनसम्पर्क समितिको संगठनात्मक गतिविधि अघि बढाउनुका साथै अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका छन्।
राजनीतिसँगै व्यवसायमा पनि सक्रिय
राजनीतिक तथा संगठनात्मक गतिविधिसँगै डंगोलले जापानमा व्यावसायिक पहिचानसमेत बनाएका छन्। विगत १६ वर्षदेखि जापानमा बस्दै आएका उनी सफल व्यवसायीका रूपमा परिचित छन्। जापानमा सेभेन सामुराई इन्टरनेसनल तथा सेभेन सामुराई कोअपरेटिभमार्फत दुई सयभन्दा बढी नेपालीलाई रोजगारी दिँदै आएका छन्। विदेशमा रहेका नेपालीलाई रोजगारीसँग जोड्ने र समुदायमा सहयोग पुर्याउने काममा पनि उनी सक्रिय रहेको विवरणमा उल्लेख छ।
कांग्रेसको विवादबीच प्रवासमा नयाँ जिम्मेवारी
नेपाली कांग्रेसभित्र नेतृत्व तथा आधिकारिकतासम्बन्धी विवादको प्रभाव विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा समेत परेको छ। पार्टीभित्र फरक धारका संगठनात्मक गतिविधि अघि बढिरहेका बेला शेरबहादुर देउवा पक्षले आफ्नो महाधिवेशन तयारीलाई तीव्रता दिएको छ। सोही पक्षको १५औँ महाधिवेशन तयारी समितिले डंगोललाई जापानको संयोजकको जिम्मेवारी दिएको हो।
मनोनयन पत्रमा नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेको जनाइएको छ। पत्रमा पार्टीलाई थप सबल, सक्षम र लोकप्रिय बनाउन संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ सबै लोकतन्त्रवादी व्यक्ति तथा समुदायलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा, जनआन्दोलनमा लागेको चोट, आक्रमण र अपहरणका कठिन अनुभव, प्रवासमा संगठन निर्माण तथा व्यावसायिक गतिविधिसम्म आइपुगेका डंगोलका लागि यो मनोनयन राजनीतिक यात्राको अर्को महत्त्वपूर्ण जिम्मेवारी बनेको छ। उनको नेतृत्वमा जापानस्थित नेपाली जनसम्पर्क समितिको आगामी संगठनात्मक गतिविधि र अधिवेशन कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।
