काठमाडौँ । नेत्रहिन युवा सङ्घ नेपाल, काठमाडौँ उपत्यका शाखाले मङ्सिर ४ गतेका लागी तोकिएको सङ्घीय तथा प्रादेशिक निर्वाचनलाई पहुँचयुक्त बनाउन पहल गर्न भन्दै काठमाडौँ उपत्यकाका तीनै जिल्लाका जिल्ला निर्वाचन अधिकृतहरूलाई ध्यानाकर्षण पत्र बुझाएको छ। अपाङ्गता भएका व्यक्तीहरूले आगामी निर्वाचनमा सहज ढङ्गबाट आफ्नो मताधिकारको उपयोग गर्ने वातावरण सिर्जना गराउन भन्दै सङ्घले लिखित रूपमा नै जिल्ला निर्वाचन कार्यालयहरूलाई ध्यानकर्षण गराएको हो।
ध्यानकर्षण पत्र बुझ्दै तीनै जिल्लाका जिल्ला निर्वाचन अधिकृतहरूले निर्वाचनलाई पहुँचयुक्त बनाउनको लागी अधिकतम प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। काठमाडौं जिल्ला निर्वाचन अधिकृत श्री ठाकुर प्रसाद भट्टराईले ूनेत्रहिन युवा सङ्घ नेपालले यसअघि पनि मतदाता नामावली सङ्कलनलगायतका कामहरूमा सहजिकरण र सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरूमा निर्वाचनलाई पहुँचयुक्त बनाउनको लागी संस्थासँग सहकार्य र समन्वय गर्ने कुरा व्यक्त गरे।
यसैगरी भक्तपुर जिल्ला निर्वाचन अधिकृतले भक्तपुर जिल्लामा अपाङ्गता भएका व्यक्तीहरूले मतदान गर्न बाधा भएको गुनासो नआएको कुरा उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तीहरूलाई सहज ढङ्गबाट मतदान केन्द्रसम्म आएर बिनाअवरोध मतदान गर्न पाउने अवस्था सुनिश्चित गराउने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै ध्यानाकर्षण पत्र बुझ्दै ललितपुर जिल्ला निर्वाचन अधिकृतले ूतपाइहरुले हाम्रो जिम्मेवारी पनि पुरा गरिदिनु भएकोमा सदैव सम्मान छू भन्दै आभार ब्यक्त गरे।
ध्यानाकर्षण बुझाउँदै संस्थाका जिल्ला कोडिनेटर शिभ अग्रवाले अपाङ्गता भएका ब्यक्तिहरुको सम्पुर्ण बिबरण निर्वाचन आयोगसँग हुनुपर्ने आवश्यकता औँल्याएु। त्यस्तै कार्यक्रम अधिकृत निलु महर्जनले मतदानस्थलमा दोभासे साथसाथै पर्यवेक्षणको भूमिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि राख्न सकेमा त्यस्ले निर्वाचनलाई थप पहुँचयुक्त बनाउन सहयोग पुग्ने कुरा बताए।
यसैगरी नेत्रहिन युवा सङ्घ नेपाल, काठमाडौँ उपत्यका शाखाका अध्यक्ष निर श्रेष्ठले निर्वाचनसम्बन्धी छलफलमा अपाङ्गता भएका व्यक्तीहरूको उपस्थिति अनिवार्य गरिनु पर्ने सुझाव दिएका थिए। साथै श्रेष्ठले निर्वाचन प्रणालीलाई पहुँचयुक्त बनाउन साथै अपाङ्गता भएका व्यक्तीहरूको मताधिकार सुरक्षित गराउन संस्था निर्वाचन आयोगसँग सहकार्य र समन्वयमा काम गरेर आयोगलाई सहयोग गर्न तयार रहेको उल्लेख गरे।
