पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुदले आइतबार पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय खेल गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने छ ।

तर, नेपाल टी २० लिगको मिति पनि त्यही समयमा पर्ने भएकोले नेपाल क्रिकेट संघको प्रस्ताव र सहभागी टोलीहरूको सहमतिपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो । नवौँमा सात प्रदेश, तीन विभाग र एनआरएन गरि ११ टिम सहभागी हुनेछन् । पुरुष क्रिकेटमा पनि ११ वटै टिमले प्रतिस्पर्धा गर्नेछन् ।

११ टिमलाई दुई समूहकमा विभाजन गरिएको छ । समूह ए मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन् । समूह बी मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश एक र एपीएफ छन् ।

प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ । एनआरएन र सुदूरपश्चिमबीच भदौ २३ गते टीयू मैदानमा उद्घाटन खेल हुनेछ । खेल बिहान सवा ९ बजे सुरु हुनेछ । त्यही दिन टीयू मैदानमा बागमती र प्रदेश एकबीच खेल हुनेछ ।

दोस्रो खेल सवा १ बजे सुरु हुनेछ । यस्तै मुलपानी मैदानमा मधेश र गण्डकी तथा लुम्बिनी र कर्णालीबीच पहिलो दिन खेल हुनेछ । फाइनल खेल भदौ ३१ गते हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.