पर्वत । अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको सातौँ संस्करण मंसिर २४ र २५ गते हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवस डिसेम्बर ११ लाई आधार मानेर महोत्सव आयोजना गर्न लागिएको हो । नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि हरेक वर्ष पर्वतीय महोत्सव आयोजना गर्दै आइरहेको छ ।
महोत्सवमा पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विषयमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको छ । पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले बताए । महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिएको छ ।
धनुषबाण आर्चरी, छेलो, साइक्लिङ, सडक दौड, फिल्म प्रदर्शनी पनि समावेश गरिएको उनको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि महोत्सवमा राखिएको छ। ‘वुमन मुभ माउन्टेन’ अन्तर्राष्ट्रिय पर्वतीय दिवसको नारा राखिएको छ । पर्वतीय भेगमा बसोबास गर्ने बासिन्दाको आर्थिक तथा सामाजिक स्तर अभिवृद्धि गराउने लक्ष्य राखिएको छ ।
