ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा नजाने भएका छन् ।
आउदो ५ गते नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो तर अचानक भ्रमणको कार्यक्रम स्थगित भएको छ ।
घुन्साका स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रमसमेत स्थगित भएपछि उनी त्यहाँ नजाने भएका हुन । भ्रमण स्थगित भएपनि फुङलिङमा ओलीका समर्थकको बाक्लो उपस्थिति रहेको छ ।
प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगनको मौखिक जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले मौखिक रूपमै समर्थकलाई कार्यक्रम स्थगित भएको जानकारी गराए । पार्टी भित्रको किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले भ्रमण स्थगन गरेको नेताहरूले बताएका छन् ।
