काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी डा स्वर्णिम वाग्लेको दोब्बर मतले अग्रता रहेको छ । गएराति ११ः४५ बजेदेखि मतगणना सुरु भएको हो । आज बिहानको नतिजाअनुसार रास्वपाका डा वाग्लेले अग्रता लिएका हुन ।
हालसम्म छ वडाको मतपरिणाम सम्पन्न हुँदा वाग्लेले पाँच हजार २५ मत प्राप्त गरेका छन ।अहिले सम्मको मतगणनामा नेपाली कांग्रेसका गोविन्द भट्टराईले दुई हजार तीन सय ५१ र एमालेका सर्वेन्द्र खनालले एक हजार पाँच सय ४९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका डा वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गरेका छन । भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गरेका छन् ।
भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका डा वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत प्राप्त गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी रहेको छ।
