काठमाडौं । आगामी आर्थिक वर्ष ०७९–०८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न अर्थ मन्त्रालयले टोल फ्रि नम्बर ११३८ मा कल गर्न अनुरोध गरेको छ ।
अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दुरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको जनाएको छ ।
कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको हो । मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लीक गरेर पनि सुझाव पेश गर्न सकिने मन्त्रालयले व्यवस्था गरेको छ ।
मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको छ ।
