काठमाण्डौ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर दुई वटा परकम्प गएका छन् । बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका हुन् । गएको मङ्गलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । लगत्तै दोस्रोपटक ३ बजेर ६ मिनेटमा सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गएराति १० बजेर ५२ मिनेटमा ४ दशमलव ५ र १२ बजेर २३ मिनेटमा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको जनाएको छ । बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा घर तथा सार्वजनिक भवनमा क्षति पुगेको छ । केही पीडितहरु अहिले पनि घरबाहिर टेन्टमा बस्दै आएका छन् । बझाङमा भूकम्पका कारण पहिरोमा परेर एक महिलाको ज्यान गएको थियो ।
निरन्तर परकम्प आइरहेकाले भूकम्पले चर्केरभत्केका घरमा तत्काल बस्न जोखिम रहेको छ । नेपाल भूकम्पको उच्च जोखिम क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिम रहेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि परकम्प आउनेक्रम निरन्तर छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा सा–साना भूकम्प गइरहेका छन् ।
ठूलो भूकम्पपछि केही महिना वा वर्षसम्म पनि परकम्प जाने गरेको केन्द्रका भूकम्पविद् डा।मुकुन्द भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बझाङमा भूकम्पपछि अहिलेसम्म तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । बझाङ भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् ।
