दाङ । बलात्कारको मुद्दामा फसाउने भनी धम्की दिएर एक व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहरीले घोराहीमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपाली रहेका छन ।
प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका उनीहरुले नारायणपुरमा सुनचाँदी पसल गर्ने दिनेश घर्तीमगरलाई राति प्रमिलाको कोठामा बोलाई घेराबन्दी गरेर रकम माग गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
सुरुमा उनीहरुले घोराही बजारमा रहेको घडेरी माग गरेको र पछि १२ लाख २० हजार रुपै लिएको उनले बताए । उनीहरुले १ लाख नगद, दुई थान चेक र ७ लाख २० हजारको अर्को चेक लिएको उनले बताए ।
पक्राउ परेका पाँच जनाका साथमा स्थानीय अजय बुढाथोकी लोकेन्द्र मगर को सहभागितामा एक महिनादेखि दिनेशलाई फसाएर रकम असुल्ने योजना बनेको प्रमाणहरु फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए ।
अजय र लोकेन्द्र फरार रहेको र उनीहरुको खोजी भइरहेको गौतमले जानकारी दिए । गौतमका अनुसार प्रमिलालाई सुनको तिलहरी बिक्री गर्ने बाहनामा दिनेशको पसलमा पठाएर चिनजान गराउने, फोन नम्बर साटासाट गराउने र नियमित कुराकानीमार्फत नजिक बनाएर कोठामा बोलाउने योजना बनाएका थिए ।
कोठामा आएको मौकामा सबै आएर ढोका खोल्ने र बलात्कार गर्न खोजेको भनेर अप्ठेरोमा पारी उनीहरुले रकम असुलेको गौतमले बताए । उनीहरुविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २५३ को उपदफा ३ (ख) अन्तर्गत आपराधिक लाभ कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको उनले बताए ।
उक्त दफामा कसैले व्यावसायिक या गैरकानुनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको बताए ।
