बिना दर्ता तीनबर्ष देखि पानीपुरी पसल संचालन, लेवल नभएका फ्रुटो जफत गरी नष्ट

बिना दर्ता तीनबर्ष देखि पानीपुरी पसल संचालन, लेवल नभएका फ्रुटो जफत गरी नष्ट

भक्तपुर । जिल्लामा अधिकांश फलफुल पसलहरु नवीकरण नगरेको भेटिएको छ । भक्तपुर नगरपालिकाले गरेको अनुगमनका क्रममा ६ वटा पसलहरुमा यस्तो भेटिएको हो । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा नगरभित्र फलफुललगायत ६ वटा पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा एच एण्ड एच जुस सेन्टर नवीकरण नगरेको, मूल्यसूची नराखिएको र लेवल नभएको फ्रुटो जुस ५०० मिलिलिटरका जुस जफत गरी नष्ट गरिएको छ । राजेश पानीपुरी विगत तीनबर्ष देखि बिना दर्ता संचालन गरेकोले तीन दिनभित्र दर्ता गर्न र मूल्यसूचि राखी सरसफाइमा ध्यान दिन समितिले निर्देशन दिएको छ ।

यस्तै सुष्मा फ्रुट शप चार बर्षदेखि नवीकरण नभएको, कुहेको र विग्रेको फलफुलहरु राख्ने गरेको भेटिएपछि तराजु नवीकरण गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ । इजी मल्टि स्टोर नविकरण गर्न, म्याद नाघेको सामानहरु आसियन ड्राई फुड पाकेट, लेवल नभएको पूर्णिमा स्पेशल भुजा १ पाकेट, सिक्सभिल्ला पापड १३ पाकेट जफत गरी नष्ट गरियो ।

एके किराना एण्ड भेज सप्लायर्स, पटिन लिंकन स्टोरलगायतमा मूल्यसूचि राख्न, म्याद नाघेको प्लाटिनम कुकिज बिस्कुट १ पाकेट, जिरा वन्डर विस्कुट १ पाकेट, बटर डिलाइट विस्कुट ३ पाकेट, नटराज दालमोठ १ पाकेट, शिवशंकर बदाम १ पाकेट र कोक ५०० मिलि जफत गरी नष्ट गरिएको र मूल्यसूचि राख्न, प्याकेजिङ्ग सामानमा लेवल राखेर मात्र विक्रीवितरण गर्न निर्देशन दिइयो ।

म्याद नाघेको मसला पाकेटहरु १७ पाकेट जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए । श्यामकृष्ण खत्री, रीता फसिकवा, श्यानिटेशन उपशाखा प्रमुख दीलिपकुमार सुवाल, वडा निरिक्षक रामकृष्ण प्रजापति, कर उपशाखा मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रसनि विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु लगायत अनुगमनमा सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.