भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भक्तपुरबाट ३३ वर्षपछि गोकर्ण देशे गाउँ पुग्यो नवदुर्गा गण

भक्तपुरबाट ३३ वर्षपछि गोकर्ण देशे गाउँ पुग्यो नवदुर्गा गण

भक्तपुर । भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने नाच ३३ वर्षपछि पुनरागमन भएको छ । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष पौष शुक्ल पक्षमा गोकर्णेश्वरमा आउने नियम भए पनि बीचमा केही वर्ष स्रोत अभावमा बन्द थियो ।

यसवर्ष गोकर्णेश्वर नगरपालिकाले नाचका लागि बजेट व्यवस्थापन गरेपछि नाच देखाइएको वडा नं ४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । नवदुर्गा, भैरव, गणेशलगायत देवीदेवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल टोखा-साङ्ला-चपली हुँदै सोमबार बेलुकी गोकर्ण देशे गाउँ आइपुगेको हो । यो बस्ती नेपालका ऐतिहासिक राजा मानदेवले बसालेको विश्वास गरिन्छ । पैदल आउनेक्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले छोएर तर्नुपर्ने नियम रहेको जनाइएको छ ।

नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट आई त्यहीँबाट फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाचको मार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यही मार्ग भएर आउने गरिएको हो । विमानस्थलको सुरक्षामा खटिएको सुरक्षा समूहले समेत नवदुर्गाका गणलाई आउन दिने गरेको छ । पशुपति क्षेत्रमा नाच देखाउन पनि यो मार्गबाट आउने गरेको जनाइएको छ ।

नाच देखाउने क्रममा नवदुर्गाका गण पौष शुक्ल तृतीया र चतुर्थी गरी दुई रात गोकर्ण देशे गाउँस्थित नवदुर्गा डबलीअघिको देवता घरमा बस्ने गरेका छन् । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा यो संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नुपरेका उदाहरण समेत रहेको किंवदन्ती छ । नवदुर्गा नाच गोकर्णेश्वर क्षेत्रसँगै पशुपति क्षेत्रको जयवागेश्वरी, बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानमा रहेका देवी मन्दिरअघि समेत लगेर नाच देखाउने परम्परा छ ।

यसवर्ष पशुपति क्षेत्रमा गत मोक्षदा एकादशीका दिन देखाइएको थियो । विसं २०३० तिर बनेपामा देवी नाच चलिरहेका बेला एक व्यक्तिले गिज्याएपछि नाचिरहेका गणले लगाएको चुराले आगलागी भएको बताइन्छ । उक्र घटनापछि यो नाचलाई गिज्याइएको छैन । पशुपति क्षेत्रमा हरिसिद्धिको जात्रा आउने वर्ष भने नवदुर्गाका गण आउँदैनन् । केही वर्षअघि हरिसिद्धि र नवदुर्गाको नाच जयवागेश्वरीमा एकैपटक आएका बेला दुवै देवीबीच झगडा भएकाले हरिसिद्धि आउने वर्ष नवदुर्गा नआउने नियम बसालिएको हो ।

जाडो महिनामा जात्राको समयपर्ने भएकाले दुई रातसम्म गोकर्ण देशे गाउँको नवदुर्गा डबलीअघि गणलाई आगो बालेर ताप्ने व्यवस्थासमेत मिलाइन्छ । विगतमा नवदुर्गा गणका नाममा गुठी राखिएकामा मासिएपछि विभिन्न स्थानमा गएर जात्रा देखाउन स्रोतको समस्या हुने गरेको गणनायकको भूमिकासमेत निभाउँदै आउनुभएका दयाराम वनमाला बताउनुहुन्छ । गुठी मासिएपछि नाच लैजाने स्थलका स्थानीयवासीको साथ र सहयोगमा यो ऐतिहासिक परम्पराले निरन्तरता पाउँदै आएको छ ।

यो नाचका क्रममा नवदुर्गालाई गोकर्णेश्वरको मूल मन्दिर परिसरमा समेत परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले सुनाउनुभयो । यो जात्राका क्रममा तीन दिनसम्म गोकर्णेश्वर क्षेत्रमा नाचसहितको जात्रा हुन्छ । नवदुर्गा नाच सकेर बुधबार नवदुर्गाका गण पैदलमार्गबाट भक्तपुर फर्कन्छन् ।

 


Thali Mobile Pvt.Ltd.