धनगढी । एसएसबीको अवरोधका कारण कञ्चनपुरमा डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम प्रभावित भएको छ । पुनर्वास नगरपालिकाको मोहनापुलदेखि वेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये बेलौरी क्षेत्रमा भारतीय एसएसबीको अवरोधले काम रोकिएको हो ।
स्थानीय प्रशासनबाट समस्या समाधानको लागि गरेको पहल सफल नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कागजात मागेको छ । बेलौरी नगरपालिका ८ को खप्टी नाला क्षेत्रको साढे एक किलोमिटर सडक खण्डमा डेढ वर्षदेखि एसएसबीको अवरोधका कारण काम गर्न नसकिएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ ।
एसएसबीले उक्त भूमि भारतमा पर्ने भन्दै काममा अवरोध सिर्जना गर्दा डेढ वर्षदेखि निर्माण कार्य अगाडि बढाउन नसकिएको हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैले बताए ।
