मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने

मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा रु सात करोड तीन लाख ७६ हजारको लागतमा पार्क निमाण गर्न लागिएको उक्त गाउँपालिकाले जनाएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको आर्थिक लगानीमा निमार्ण हुने गरी बहुवर्षीय योजनाअन्तर्गत पार्क निर्माण कार्य अगाडि बढाइएको हो ।

पार्क निर्माणका लागि प्रथम चरणअन्तर्गत बागमती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको चालु आव २०७७÷७८ को स्वीकृत कार्यक्रमअन्तर्गत निर्देशनालयको रु १० लाख, गाउँपालिकाको रु १० लाख तथा स्थानीयवासीको रु दुई लाख ७८ हजारको लागत सहयोगमा निर्माण हुने बताइएको छ । उक्त बजेट पनि विनियोजन भइसकेकको छ । बजेट विनियोजनसँगै उक्त पार्क निमार्णका लागि निर्देशनालयका निमित निर्देशक रामप्रकाश प्रधान र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीबीच सम्झौता पत्रमा हस्तान्तरण गरिएको पुडासैनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पशुमैत्री पार्कमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रा लगायतका आकृति, तालीम केन्द्र, रमणीय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानी ट्याङ्की, स्वीमिङ पुल, चमेना गृह, पिकनिक स्थल, शौचालय, विश्रामस्थल र पदमार्ग लगायतका संरचना निमार्ण हुने बताइएको छ । रासस

Mohotsav


Thali Mobile Pvt.Ltd.