काठमाडौं । उपत्यकाको व्यस्त सडक माइतीघरमा डाक्टरको अनौठो आन्दोलन चलिरहेको छ । कोभिड–१९ को भत्ता हराएकोले भत्ता खोज्दै डाक्टर सडकमा आएका हुन् ।
कोभिड १९ को भत्ता सरकारबाटै हराएकोले खाजी गर्दै निजामती (सिभिल) अस्पतालका मेडिकल अफिसर डा. अजित मल्लिक माइतीघर मण्डलाको व्यस्त सडकमा पम्पलेट सहित आएका हुन् । विहिवार डा. मल्लिक यसरी प्लेकार्ड सहित सडकमा आउनुको एउटै कारण हो, ‘कोभिड १९ को भत्ता माग ।’
उपचारमा खटिए बापतको जोखिम भत्ता नपाएको, उपचारमा संलग्न हुँदा हुदै आफै कोभिड संक्रमित हुदा बेवास्ता भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । कोभिड १९ विरुद्धको लडाईमा होमिएको एक वर्ष भएपनि अहिलेसम्म कोभिड भत्ता नपाएको उनको गुनासो छ ।
अस्पतालले कोभिड भत्ता दिने बहानामा आफुलाई आश्वासन मात्र दिएको भन्दै उनले भिक नभई ज्याला मागेको बताए । स्वास्थ्यकर्मीको अधिकार र प्राथमिकताका विषयमा सरकार संवेदनशील हुन पर्नेमा कुनै वास्ता नगरेको मल्लिकको गुनासो छ ।
