कुनै पनि रासायनिक मल र रासायनिक विषादीको प्रयोग नगरि उत्पादन गरिने खेतीलाई अर्गानिक खेती भनिन्छ । यो खेती वातावरण मैत्री हुन्छ । यसलाई जैविक खेती (प्राङ्गारिक) पनि भन्ने गरिन्छ । अर्थात खाद्य उत्पादन गर्ने यो एउटा पद्दति हो । यो खेती प्रर्णालीले माटोको संरक्षण र उत्पादन शक्तिलाई बढाएर मानव स्वास्थमा सकारात्मक परिवर्तन ल्याई स्वस्थ राख्दछ । मानव मात्र होइन पशुपञ्क्षीहरूको स्वास्थ्यमा समेत महत्वपुर्ण भूमिका खेल्छ । कृषिजन्य वस्तु स् जस्तै, खाद्यान्न, फलफूल, दूध एवं दूधजन्य पदार्थ, मासु, अन्डा, कपासको उत्पादन तथा यी वस्तुहरूको प्रशोधन प्राङ्गारिक पद्धतिबाट गरिन्छ ।
प्राङ्गारिक खेतीको मुख्य उद्देश्य पारिस्थितिक प्रणालीमा सन्तुलन कायम गर्नु, कम भन्दा कम लागतमा उच्च गुणस्तरीय खाद्य वस्तु उत्पादन गर्नु हो । यसमा सफल्ता हासिल गर्न सम्भव भएजति यो खेती प्रणालीमा, जैविक र यान्त्रिक उपायको खोजी गरेर वनस्पति तथा जीवजन्तुको जैविक र वंशाणु क्षमताको अधिकतम प्रयोग गरिन्छ । हाल आएर अर्गानिक खेतीको बारेमा व्यापक रूपमा कुरा उठिरहेको छ । आफ्नो फार्मभन्दा बाहिरबाट आपूर्ति हुने कृत्रिम कृषि सामाग्रीहरूले गर्दा मानव स्वास्थ्यमा खराव प्रतिक्रिया दिएर, जसले वातावरण र स्वास्थ्यमा प्रतिकूल असर पार्छ, त्यस्ता चिजहरूको व्यापक प्रयोगले मानवमा विभिन्न रोगहरू लाग्ने गरेको छ ।
आज लाखाैं मानिसहरू प्राकृतिक भन्दा पनि कृतिम खाध्यपदार्थबाट गलिरहेकाे अवस्था छ । त्यस्ता चिजहरू निरुत्साहित गरी ताजा उत्पादन र स्वस्थकर उत्पादनमुखि बन्ने हो भने अर्गानिक खेतिमा ध्यान दिनै पर्छ, यसले राेग प्रतिराेधी क्षेमता बढाउन समेत मदत गर्दछ । सम्पूर्ण मानव समुदायले आफ्नो स्वास्थ्य स्थितिमा परिवर्तन ल्याउन अर्गानिक खेती प्रर्णालीमा लाग्नै पर्छ ।
तर पछिल्लो समय नेपालमा किसानहरू अल्छी हुदै गएको र कृर्षी प्रधान देश नेपालमा राज्यले खासै ध्यान नदिएको आरोप छ । गएकाे वर्ष पहिले आइ फार्म इन्टर नेश्नलले भारतको दिल्ली स्थित नोयडामा आयोजना गरेकाे जैविक कृर्षि विश्व कुम्भमा सहभागि भएर नेपाल फर्किदाकाे अनुभवले केही कुरा सिकाएकाे छ । १ सय १० राष्ट्र सहभागि भएको सो सम्मेलनमा नेपालले आधिकारीक उपस्थिति नजनाए पनि सस्थाकाे तर्फबाट अर्गानिक चिजहरू प्रदशन गरेको सो सम्मेलनमा नेपालले सहभागिता नजनाएकोमा दुख लाग्याे । गैर सरकारी महासंघबाट नेपालका ७ जना सहभागि भएकाे सो सम्मेलनबाट भने महत्वपूर्ण कुराहरू सिकेर आउदा खुसी लाग्याे ।
नेपालमा विभिन्न ठाउँमा “आई.पी.एम. पाठशाला” संचालन भएका समाचार पनि वाहिर नआएका होइनन । आई.पी.एम. पाठशालामा कृषकहरूलाई रासायनिक मल र विषादीको प्रयोगमा न्यूनीकरण गर्न सम्पुर्ण कृषकहरूलाई अभिप्रेरित गरिन्छ र जैविक अर्थात् कम्पोष्ट मलको प्रयोग गर्नमा जोड दिन्छ । उनिहरूलाइ किरा र रोग नियन्त्रणसम्बन्धी पनि ट्रेनिङ दिन्छ । तर पनि किसानले खासै चाँसो नदिएको र राज्य पनि यसमा गम्भिर भए जस्तो गर्छ र परिणाममा भने सुन्यता कायम गर्छ ।दैलेखका विभिन्न ठाँउमा अर्गानिक खेती सुरु भैसकेको छ । ’सुरुमा उत्पादन कम हुने भएकाले किसानमा नैराश्यपना ल्याउँछ, तर ३ /४ वर्षपछि पहिलेको अवस्थामा पनि सुधार ल्याई उत्पादन र गुणस्तरमा वृद्धि ल्याउँछ ।
रासायनिक मल र विषादीले तरकारी र फलफूलमा आकर्षक परिर्वतन त ल्याइदिन्छ नै, तर यस्ता आकर्षक खाद्य सामाग्री गुण स्तरहीन र यसले हाम्रो स्वास्थमा नकारात्मक असर ल्याउँछ । प्राङ्गारिक तरकारी खानाले तनाव एवं मुटुको रोग कम हुन्छ । प्राङ्गारिक तरकारीको सुपमा गैरप्राङ्गारिकमा भन्दा ६ गुणा बढी सालिसाइलिक अम्ल पाइन्छ भने । चिकित्सकले पनि सालिसाइलिक अम्ल यौगिकले एस्प्रिनले जस्तै सुन्निएको घटाउँछ भने मुटुको धमनीलाई बलियो बनाउँछ भनेका छन् । योे यौगिक सवैभन्दा बढी गाजर र धनियाँको सुपमा पाइने चिकित्सकको कथन छ ।
अर्गानिक खेतीका प्रमुख चुनौती के ?
प्रमुख शत्रु रासायनिक विषादी र दोस्रो शत्रु रसायनिक मल हो । यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने भएकाले रोगी बनाउछ । मानव मात्र नभएर पशुपञ्क्षीलाई लोप हुने अवस्थामा लैजान सक्छ । माटोलाई पनि विषाक्त बनाएर उत्पादन घटाउने गर्दछ । कृषकमा यस्को अन्धविश्वास छ, किसानको अन्धविश्वासलाइ चिर्न जरुरी छ । उत्पादित सामानको बजारीकरणमा समस्या, जलवायु परिवर्तन अर्काे समस्या, नेपालले टेक्नलोजीमा विकास नगर्नुकाे समस्या छ । नेपालीको भान्सामा विषादीमात्र प्रयोग हुन्छ भन्दा पनि हुन्छ । तरकारी, फलफूल त छँदैछ, हामीले खाने चिउरा र पाउरोटीमा समेत विषादी प्रयोग हुने गरेको छ।
खाद्य सामाग्रीमा प्रयोग हुने विषादीहरूले मानव स्वास्थ्यमा दुई वटा असर देखाउँछ नम्वर १. तुरुन्त असर देखाउने, नम्वर २. लामो समयको अन्तरालममा असर देखाउने भएकाले यसको प्रयोगले क्यान्सर जस्तो घातक रोग पनि निम्ताउने खतरा हुन्छ । किसानलाई पनि छिटो प्रतिफल चाहिने भएकाले केमिकल र विषादिको प्रयोग बढिमात्रमा गर्छन । यसको सिकार स्वयम् किसान नै हुने गरेका छन । किनभने उत्पादन गर्दाको समयमा विषादी प्रयोग किसानले गर्छन र खाद्य उपभोग पनि पहिला किसानले नै गर्छन । उपभोक्ता त दोस्रोमा छन् । त्यसै कारणले अर्गानिक खेतीको बारेमा कृषकलाई सुक्ष्म जानकारी दिएर गाँउगाँउमा व्यापक जनचेतना फैलाउनु जरूरी छ ।
नेपालले आफ्नो पहिचान अर्गानिक खेतीबाटै दिन सक्नु पर्छ । नाम मात्रको कृर्षि प्रधान होइन काममा पनि कृर्षि प्रधान हुनु पर्याे । गाई–गोरुको मलमुत्रबाट उत्पादित (कम्पोष्ट) मलले नै विरुवालाई चाहिने सम्पूर्ण पदार्थको पूर्ति गर्ने भएकाले गहुँत र हाम्रै वरिपरि पाइने असुरो, निम, तितेपाती, हर्रो, बर्रो, सुर्ति, अदुवा, तुलसीढुङग्री फूल, सिस्नु, निबुवा, गाँजा, लसुन, प्याज, पुदिना, बाँबरी, खिर्राे, केतुके, हात्तिसार, मरिच, बकाइनो, गन्धेझार, सीताफल, सरीफा, जस्ता जडीबुटी किरा र रोग नियन्त्रणमा प्रयोग गर्न सकिन्छ । यसले उत्पादन बढाउन मद्दत गर्ने भएकाले यी जडीबुटीहरूका पात, डाँठ, फल, फूल, जरा आदिलाई काँचो वा सुकाएर वा पानीमा भिजाएर बनाइएको रस प्रयोग गर्नु पर्छ ।
तर के गर्ने ? नेपाल सरकारसँग कृषिप्रति कुनै नीति नै छैन र राजनीतिक गोलचक्करमा फसिरहने कारणले अर्गानिक खेती अलमलमा छ । सबै कृषकहरूलाई सरकारले नै आकर्षित पार्नु पर्ने छ । कृषकहरूलाई अनुदान दिएर यससम्बन्धी तालिम दिनु पर्छ ।कृषिमा कम्तिमा पनि ५० प्रतिशत बजेट छुट्टाउनु पर्छ र कृषिमा लगानी गर्नु पर्छ, जसले युवाहरूलाई कृषिप्रति आकर्षित गर्न सकोस् र विदेश पलायनलाई रोकथाम गरी नेपाली श्रम नेपाली माटोमै मिलाउन सकियाेस् ।अर्गानिक खेती श्रममूलक व्यावसाय भएकाले उत्पादनदेखि लिएर कटाइ, चुटाइ तथा बजारीकरणमा बढी श्रमको आवश्यकता पर्छ ।
ठूलो जनशक्ति समावेस हुनेभएकाले रोजगारी सिर्जना हुन्छ र ठूलो सङ्ख्यामा रहेका अर्ध–दक्ष बेरोजगार युवाहरूलाई यसले काममा लगाउन सकिन्छ । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य समेत भैसकेको सन्दर्भमा कृषि वस्तुको गुणस्तर कायम गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौतीको सामना गरी पुरै नेपाल अर्गानिक खेती र नेपाली कृषकहरूलाई यस सम्वन्धी बरदान सावित गराउन नेपाल सरकारले कागजमा होइन व्यवहारमा कायापलट गर्न जरूरी छ ।

