चैत महिनामा करिब ६१ हजार ८१९ नेपालीले श्रम स्वीकृति लिए
करिब ६२ हजार नेपाली वैदेशिक रोजगारीमा गएका
सबैभन्दा धेरै मलेसिया, युएई, कतार र साउदी अरब
४१ हजारभन्दा बढी पुनः श्रम स्वीकृति लिने श्रमिक
मधेस प्रदेशबाट सबैभन्दा बढी वैदेशिक श्रमिक
अधिकांश दक्ष श्रमिकका रूपमा विदेशिएका
काठमाडौँ, १० बैशाख । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत फागुनको तुलनामा चैत महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या झन्डै ९ हजारले वृद्धि भएको छ।
फागुन महिनामा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएकोमा चैत महिनासम्म यो संख्या बढेर ६१ हजार ८१९ पुगेको विभागले जनाएको छ। तीमध्ये ५५ हजार ७१२ पुरुष र ६ हजार १०७ महिला रहेका छन्।
विभागका अनुसार चैत महिनामा नयाँ श्रम स्वीकृति लिनेको संख्या २० हजार ५४५ रहेको छ, जसमा १७ हजार ६७० पुरुष र २ हजार ८७५ महिला छन्। बाँकी ठूलो हिस्सा पुनः श्रम स्वीकृति लिने श्रमिकको रहेको छ।
यसरी चैत महिनामा मात्रै करिब ६२ हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। सरकारको मुख्य नीति स्वदेशमै रोजगारी सिर्जना गर्ने भए पनि वैदेशिक रोजगारीप्रतिको आकर्षण भने उच्च देखिएको छ।
देशगत रूपमा हेर्दा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन्, जहाँ १८ हजार ६ सय ४९ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि संयुक्त अरब इमिरेट्स (युएई) मा ११ हजार ४ सय ६३, कतारमा ८ हजार ९ सय ५९ र साउदी अरबमा ८ हजार ९ सय २० जना नेपाली गएका छन्।
युरोपेली मुलुकहरूमा पनि नेपालीको आकर्षण बढ्दै गएको देखिएको छ। रोमानियाका लागि ४ हजार ४ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन् भने जापानमा १ हजार ६ सय २६ र साइप्रसमा १ हजार ३९ जना पुगेका छन्।
विभागका अनुसार रोजगारीका लागि नयाँ जानेभन्दा बिदामा आएर पुनः सोही देश फर्किने श्रमिकको संख्या बढी रहेको छ। चैत महिनामा मात्र ४१ हजार २ सय ७४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। प्रेषण माध्यमअनुसार म्यानपावर कम्पनीमार्फत ११ हजार ५ सय ५८ जना, व्यक्तिगत रूपमा ८ हजार ६ सय ५२ जना र सरकार–सरकार (जी–टु–जी) सम्झौतामार्फत ३ सय ३५ जना नेपाली विदेशिएका छन्।
प्रदेशगत रूपमा मधेस प्रदेशका जिल्लाबाट सबैभन्दा बढी श्रमिक विदेशिएका छन्। धनुषाबाट ३ हजार ८ सय २९, सिराहाबाट २ हजार ६ सय ९८, महोत्तरीबाट २ हजार ६ सय २२, झापाबाट २ हजार ५ सय ३३ र मोरङबाट २ हजार २ सय १२ जनाले श्रम स्वीकृति लिएका छन्।
सीपको अवस्थाअनुसार अधिकांश नेपाली दक्ष श्रमिकका रूपमा विदेशिएका छन्। चैत महिनामा ४२ हजार २१ जना दक्ष कामदार, १३ हजार ३ सय ६६ जना सीपविहीन, ६ हजार १०९ अर्धदक्ष, २५३ प्रोफेसनल र ७० जना उच्च दक्ष श्रमिक रहेको विभागले जनाएको छ।

