सुर्खेत, १० बैशाख । कर्णालीको पहाड, नदी, हिमाल र मौलिक जीवनशैली अब प्रकृतिको सौन्दर्य मात्र होइन, चलचित्रको पर्दामा पनि जीवन्त हुने तयारीमा छन्। “घूमौं कर्णाली, हेरौं कर्णाली” भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (KIFF) २०२६ ले फेरि एकपटक कर्णालीलाई सांस्कृतिक र पर्यटन नक्सामा उजागर गर्ने तयारी गरेको हाे।
कर्णाली, जहाँ विकासका कथाभन्दा बढी मौन सौन्दर्य लुकेको छ, त्यहीँ मौन सौन्दर्यमा चलचित्रमार्फत नयाँ कथा लेख्ने प्रयास भइरहेको आयोजककाे भनाइ छ। यो महोत्सव चलचित्र प्रदर्शनको कार्यक्रम होइन, कर्णालीलाई चलचित्र पर्यटनको नयाँ गन्तव्य बनाउने दीर्घकालीन अभियान भएकाे आयोजक (KIFF) ले जनाएकाे छ ।
कर्णालीको भाषा, भेषभूषा, रीतिरिवाज र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्यसहित “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने सन्देशसहित ‘गन्तव्य कर्णाली’ अवधारणालाई केन्द्रमा राखिएको छ।
महोत्सवले कर्णालीका लुकेका कथालाई पर्दामा उतार्न विशेष चलचित्र कथा प्रतियोगिता समेत सुरु गरेको छ। उत्कृष्ट कथाले एक लाख रुपैयाँ पुरस्कार मात्र होइन, चलचित्रमा रूपान्तरण हुने अवसर पनि पाउनेछ। जलवायु परिवर्तनजस्ता समसामयिक विषयलाई पनि महोत्सवले प्राथमिकतामा राखेको छ।
वैशाख ११ गते शुक्रबार सुर्खेतको वीरेन्द्रनगरस्थित होटल शुभमा उद्घाटन समारोहसहित चलचित्र पर्यटन संवाद हुनेछ भने त्यसको शनिबार सल्यानको सुन्दर कुपिण्डेदहमा ‘कुपिण्डे चलचित्र पर्यटन समारोह’ आयोजना गरिने जनाइएकाे छ।
कर्णाली, जहाँ पहिले यात्रा कठिन थियो, अहिले चलचित्रका लागि सम्भावनाको भूमि बन्दै गएको छ । यहाँका झरना, ताल, हिमाल र गाउँहरू अब पर्दामा देखिनेछन्, जसले कर्णालीलाई भूगोल होइन, अनुभवको गन्तव्य बनाउने अपेक्षा आयोजक (KIFF) काे छ ।
महोत्सवले चलचित्र निर्माता, निर्देशक र पर्यटन व्यवसायीलाई कर्णालीतर्फ आकर्षित गर्ने र स्थानीय सरकारदेखि संघीय तहसम्मको सहकार्यमा रोजगारी, पर्यटन र सांस्कृतिक प्रवर्द्धनमा नयाँ ऊर्जा थपिने आयोजककाे विश्वास रहेकाे छ ।

