यस्ताे थियाे जनयुद्व (भिडियाेसहित)

यस्ताे थियाे जनयुद्व (भिडियाेसहित)

काठमाडाैं । २०५२ साल फागुन १ गतेको मध्य रात, चारैतिर बन्दुकको आवाज पड्कियो । सामन्तको निदहराम भएको रात अर्थात नेपाली इतिहासमा जनयुद्ध संखघोस भएको रात । नेपालको राजनीतिक परिवर्तनमा निर्णायक र महत्वको रात सावित भएको त्यो रात फागुन १ गतेको रात….

रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडी, सिन्धुली, रामेछापलगायत देशका विभिन्न ठाउँमा एकै साथ प्रहरी चौकीमाथि धावा बोल्दै सामन्तहरुको निद हराम गरेको यस रातले नेपाल मात्रै होइन विश्व थर्काउने रात बन्न पुग्यो । सुरा सुन्दरी, यश आराममा लिप्त भएर जनता चुस्न पल्केका शासकहरु विरुद्ध फागुन १ गतेको रातले जनयुद्धमा हजारौं युवाहरु सहभागी गरायो ।…

एकात्मक सामन्तबादको नाइके राजतन्त्र र त्यसको जुठोपिरो चाखेर जनतमाथि हालिमुहाली गरिरहेका शोसक, सामन्त, जालीभेलीका विरुद्ध युवाले लडाकु दल, सुरक्षा दल, स्वयंसेवक दल गठन गरेर लडाईलाई झन पेचिलो बनाउदै लगेका थिए । रोग, भोग, अशिक्षा, अन्याय, अत्याचार र गरिबीको चपेटामा जनतालाई पारेर आफु मालिक बनेका शासक दलहरुको हालिमुहाली चलेको नेपालमा नागरिक स्वतन्त्रता र जनताको मुक्तिका लागि नेकपा माओवादीको नाममा नेपाली जनताले लडेको युद्धले छोटो समयमै नयाँ रणनीति तयार पारी अघि बढेको थियो ।

सीमित संरचनामा देशभरीबाट युद्धमा युवा युवतीको लहर नै चलेपछि २०५३ सालमा माओवादीे केन्द्रीय समितिको बैठक बसेर जनयुद्धको दोश्रो योजना बनाउन सफल भयो । २०५८ मंसीरमा रोल्पाको कुरेलीमा भेला भएका हजारौं जनताको उपस्थित लडाकुदलबाट जनमुक्ति सेना निर्माणको दिशामा नेकपा माओवादी अघि बढ्यो ।

प्रचण्डको उपस्थितिमा भएको उक्त भेलाले जनमुक्ति सेनाको घोषणा गरी सोही भेलाले नेकपा (माओवादीका अध्यक्ष प्रचण्डलाई सुप्रिम कमाण्डर घोषणा ग¥यो । लगतै गाउँ छोडेर शहर र सदरमुकाम केन्द्रीत भएको सामन्तका आउरेवाउरेलाई अझै लखेट्न जनमुक्ति सेनाले दाङ्गको घोराहीमा रहेको शाही नेपाली सेनामाथि आक्रमण ग¥यो र विभिन्न किसिमका हातहतियार कब्जा ग¥यो ।

रोल्पामा फेरी नेकपा माओवादीको बैठक बस्यो र बैठकबाट जनरल स्टाफमा वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र नन्दकिशोर पुन पासाङलाई चयन ग¥यो । २०५९ सालमा रोल्पामा ३ डिभिजन जनमुक्ति सेना घोषणा गरियो र पूर्वी कमाण्डमा अनन्त, मध्य कमाण्डमा पासाङ र पश्चिम कमाण्डमा प्रभाकरलाई कमाण्डरको जिम्मा दियो ।

पश्चिम कमाण्डमा देव गुरुङ राजनीतिक कमिसार र जनार्दन शर्मा कमाण्डर बनायो । मध्य कमाण्डमा पोष्टबहादुर बोगटी राजनीतिक कमिसार र नन्दकिशोर पुन पाासाङलाई कमाण्डर बनायो । पूर्वी कमाण्डमा रामबहादुर थापा बादल राजनीतिक कमिसार र वर्षमान पुन अनन्तलाई कमाण्डरको जिम्मेवारीमा दियो । जनमुक्ति सेनाको होल कमाण्डरमा नन्दकिशोर पुन पासाङलाई जिम्मेवारी दिईएको थियो ।

जनयुद्ध झन झन पेचिलो बन्दै गयो भने शासकहरुले चरम दमनको नीति लियो भने जनमुक्ति सेनाले प्रतिरोध गर्दै गयो । मुलुकमा संकटकाल लगाएर सेना परिचालन गरिएको थियो । थवाङको ठूलोगाउँ पुरै सेनाले जलायो । घरहरु खरानी भए भने कयौं निर्दोषमानिसलाई यातना दिन थाल्यो । यो क्रम देशभर चल्यो ।

त्यसपछि जनमुक्ति सेनाले बन्दुकका नाल सफा गर्न थाल्यो । शासकहरुबाट जति दमन र उत्पीडन भयो हुन थाल्यो जनताले मसला पिस्ने हातहरूले बारुद पिस्न थाले । यातना यति सम्म दिन थालेकी जनता देख्ने वित्तिकै माओवादी हुन भन्न थाल्यो र गोलीको वर्षा गराउन थाल्यो । शासकहरुको दमन सहन नसकेर जनताले आलु उसिन्ने र ढिँडो पकाउने भाँडामा जिलेटिन भर्न थाले । रोल्पा, रुकुम, कालिकोट, दैलेख, जाजरकोट, अछामलगायत ठाउँमा राज्यले झन दमन गर्न थाल्यो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

यता थवाङमा झन विभिन्न अप्रेशनको नाममा मानिसलाई जिउदै जलाउन थाल्यो । पढ्न गएका विद्यार्थी, घाँस दाउरा गएका युवा युवती हराउन थाले । शासकहरुले लिएको चरम दमनका बाबजुत विद्यार्थी किताव होइन झोलामा बम र बारुद बोक्न थाले । किशोर किशोरीहरु घाँस दाउरा होइन, बन्दुक बोक्न थाले । जनवादी स्कुलमा कम्युनिस्ट क, खबरदार ख पढाउन थालियो । बालबच्चाहरु बुर्जुवा कोर्सका किताव जलाएर जनवादी पुस्तक झोलामा बोक्न थाले ।….

वर्गसंघर्षको तुफानी केन्द्रका रूपमा विद्रोेही गाउँ, आधार इलाकाका रुपमा रुपानत्रण भए नेपालका अधिकाँश थवाङहरु । ०५८ सालमा राज्यले माओवादी मास्ने नाममा संकटकाल लगायो । चैत १६ मा सेनाले रोल्पाको एकै ठाउँमा रहेका १३ वटा घरमा आगो लगाइदियो । रोमियो अप्रेसनका क्रममा गाउँमा पसेका प्रहरीले महिलालाई बलात्कार गर्ने, स्थानीयका अन्न मिसाइदिने, गाउँमा भेटिएका जाँडरक्सी खाइदिने, भेटेजतिलाई कुटपिट गर्ने कामलाई तीब्रता दियो ।

संकटकालपछि सेनाले गाउँमा कोही नभेटिएपछि घरमा आगो लगाउने, महिला बलात्कार गर्ने, नेताका जहान परिवारमा कुटपिट गर्ने काम ग¥यो भने यता माओवादीले पनि शोसक सामन्तको सफाया गर्ने, घर सेवोटेज गर्ने, सुराकी खोज्दै सफाया गर्ने कामलाई तिब्रता दियो । जनता दोहोरो मारमा पिल्सीए । बस्ती जलाइए, कर्यौ गाउँ जलेर खरानी भए । जनयुद्धमा कर्यौ युवा युवतीहरु सहिद भए, कायौंका सिउदो पुछिए, अति अपाङ्गगता हुन पुगे, शरिर भरी बम र गोलीका छर्रा बोक्न बिबस भए । …

२०६१ पछि माओवादीले प्रचण्डलाई सुप्रिम कमाण्डर, वर्षमान पुन, जनार्दन शर्मा, नन्दकिशोर पुन र चक्रपाणि खनाललाई डेपुटी कमाण्डर बनायो । लगतै जनमुक्ति सेनाका सात डिभिजन निर्माण ग¥यो । सात डिभिजनका कमाण्डरको जिम्मेवारीमा १ मा सन्तु दराइँ परवाना, २ मा सुकबहादुर रोका शरद, ३ मा धनबहादुर मास्के राजेश, ४ मा यमबहादुर अधिकारी प्रतीक्षा, ५ मा तेजबहादुर ओली प्रतीक, ६ मा गणेशमान पुन रश्मि र ७ मा कालीबहादुर खाम विविध’, ८ मा महेन्द्र बहादुर शाही प्रज्जवल’।

माओवादीले ७ वटा डिभिजनमा एक ÷एक जना कमाण्डरको कमाण्डमा रहने गरी ३÷३ जना सहायक कमाण्डर तोकेको थियो । डिभिजनको कमाण्डमा रहने गरी २८ वटा ब्रिगेड बनाएर कमिसार, कमाण्डर र सहायक कमाण्डर तोकेको थियो । त्यसरी नै ब्रिगेडअन्तर्गत बटालियन, बटालियनअन्तर्गत कम्पनि, कम्पनिअन्तर्गत प्लाटुन र प्लाटुनअन्तर्गत सेक्सन रहने गरी जनसेनाको फौजी संरचना निर्माण गरेका थियो ।

जनमुक्ति सेनाले हेडक्वार्टरको सुरक्षाका लागि एक ब्रिगेड संरचना बनाएको थियो । त्यसरी नै स्पेशल टाक फोर्सको पनि संरचना थियो, जसले शहरी क्षेत्रमा छापामार हमला गर्दथ्यो। जनमुक्ति सेनाले आन्तरिक तालीम र प्रशिक्षणका लागि सैन्य विभाग र खेलकूदका लागि पिएलए स्पोर्टस् क्लवसमेत बनाएको थियो ।

युद्ध र शान्ति दुवैलाई अंगालेको माओवादी र दमनमा उत्रिएको सरकारबीच विभिन्न समयमा वार्ता पनि भए । वार्तामा फेरी सरकारले धोका दिएपछि युद्ध भंग पनि भयो । फेरी देश मुठभेडमा उत्रियो । त्यसपछि २०६२ मंसिर ५ मा शान्ति सम्झौता भयो । जनमुक्ति सेना क्यानटोनमेन्टमा बस्यो भने नेपाली सेना व्यारेकमा कैद भयो । राजनैतिक उतारचढाव निकै भए । संविधान सभाको चुनाव भयो । युद्धमा होमिएको पार्टी सत्तामा गयो ।

सेना समायोजन गरियो । हतियारको चावी बुझाईयो । युएन आएर मोनिटरिङ्ग ग¥यो । मुलुकमा राजनैतिक फेरबदल भयो । देशमा जनआन्दोलन भयो । मुलुक गणतन्त्र आइसकेपछि पनि नेपालको राजनीतिक घटनाक्रम विभिन्न ढंगले तलमाथि भइर¥योे । पार्टी एकता भए पुराना नाम मेटाएर नयाँ पार्टी गठन भए । तर जनताका आधारभूत समस्या जहाँको त्यहि रहे ।

हिजोको जस्तै थवाङीहरूले आगो ताप्दै उसिनेको आलु खाइरहे तर आलु खाएर शहर पुगेकाहरुले चिल्लो गाडी भेटेपछि आलुलाई नै बिर्सी सके, घाम ताप्दै मकैको ढिँडो खाएका नेताजीहरुलाई अहिले त्यो मन पर्दैन । मार्सी र विदेशी मासुको ज्यूनार मन पर्न थाल्यो सायद त्यही भएर होला हिजो संगै लडेकाहरु ऋहिले खाडीमा गैटी विल्चा हान्दै छन् । नेता र नेतृत्व छोडेर ओर पर चहारिरहेका छन् । घाइतेका घाउ चहराइरहेका छन् । अन्याय अत्याचार झन झन मडारिदैछ ।

आफ्नै नातागोताले राजनीति धुमलिरहेको छ । कार्यकर्ताले साथ किन छोडे भन्ने हेक्का अहिले सम्म नेतृत्वलाई नहुनु नेताको अगाडि चिल्लो घस्नेहरुले गर्दा हो । उनको जुठो पीरो खाएर गलत कार्य गर्ने आशेपासेले गर्दा हो । जनताका कुरा नेतृत्व सम्म नपु¥याउने अनि जाली फटाहाका कुरा सही हुन भनेर नेतृत्व कहाँ पु¥याउने गर्दा यो अवस्थामा पुगेको पक्कै हो ।

रोल्पाको होलेरीले मुहार फेरेपनि अवस्था उही रहेको छ । वर्षमान पुन र नन्दकिशोर पुनको नेतत्वमा ०५८ सालमा गरिएको होलेरी आक्रमणले तत्कालीन प्रधानमन्त्रीको कुर्सी मात्र हल्लाएन, नेपालको राजनीतिमा नयाँ मोड ल्याएको थियो । तर त्यही होलेरीमा सातु आएर योजना बनाउनेहरु अहिले महत्वपूर्ण स्थानमा पुगेपछि बोल्ड डराएका छन् । ओहोदाले बोल्न दिदैन भनेर अहिले ती जनताको पक्षमा बोल्न डराइरहेका छन् । हिजोको इतिहास नामेट पार्ने दाउमा देशिविदेशी शक्ति लागिपरेका छन् तर ओहोदामा पुगेकाहरु जागिर खुस्कीने हो कि भन्ने डरले चुपलाग्न बाध्य छन् ।

जव उनीहरु बोल्न हुदैन भनेर पन्छिन थाल्छन् अनि यता विजोग भएका सहिद परिवार सम्झिन मन लाग्छ । थवाङमा मात्रै ३२ परिवार सहिद भएका थिए । तेजमान घर्तीमगर, ताराप्रसाद रोकामगर, लालमणि रोकामगर, मूलधन घर्तीमगर, जुतीबहादुर घर्तीमगर, हितबहादुर घर्तीमगर, दर्शन घर्तीमगर, सूर्यबहादुर रोकामगर, रामचन्द्र रोकामगर, मनभक्त बुढामगर, लोचन रोकामगर, टंक रोकामगर, बालकुमार नेपाली, धन रोकामगर, हितमाया बुढामगर, चामसरी बुढामगर, जोवनसरी रोकामगर, बिन रोकामगर, कुमार रोकामगर, रसु विक, बलमान बुढामगर, सिर्जन रोकामगर, भक्तबहादुर विक, कटकरी रोकामगर, भक्त रोकामगर, धनरूपी गुरुङ, निमु रोकामगर, मूलजिता रोकामगर र लाटा बुढामगर थबाङ र देशका विभिन्न भागमा राज्यबाट मारिए ।

तर, सहिदको सपना पूरा हुने त कुरै छाडौँ, सहिद परिवारलाई हातमुख जोड्नसमेत गाह्रो भइरहेको अवस्था छ । त्यसैले त्यस्ता कैयौँ सहिद परिवार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लामवद्ध भइरहेका पनि छन् । आजको दिन जनयुद्ध दिवश फेसबुकमा समझना गरिरहेछन् भिआइपिहरु । नेता र नेतृत्वहरु अहँ.. जनताको बिचमा जनयुद्ध दिवस मनाउनु पर्छ भन्ने आँट सम्म गर्दैनन् । यो किन ?

किन इतिहास माथि कुठाराघात गरिदैछ ? प्रचण्ड एमाले भए, बाबुराम दक्षिणपन्थी भए, विप्लबमा अझै युद्धको धङधङी कायमै छ, किरणले यी सबैको साथ छोडे आँखिर केका लागि राजनैतिक रंगशालामा अनेकौं खेल खेले नेताले आफ्नै लागि बस आफ्नै लागि । जनता जस्ता थिए उस्ताका उस्तै छन् ।

१० वर्षको सशस्त्र जनयुद्धमा धेरै चौकी खरानी भए, नेताका घर र जनताका घर ध्वस्त भए, जनयुद्धमा हजारौं योद्धाहरु घाइते भए । हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरिन्छ तर जनयुद्धकारी शक्तिहरु अहिले अलगथलग भएर विभिन्न टुक्रा टुक्रमा विभाजित छन् । जनयुद्धले कोरेको मार्गमा हिडेकाहरु जनयुद्ध पछिका १६ बर्ष शान्ति प्रक्रियामा आँउदा जनताको जिवनमा वैचारिक चेतनाको बिकास बाहेक कुनै भौतिक परिवर्तन हुनसकेको छैन । जनताले कष्ट भोग्नु परिरहेको छ ।

वर्तमान राजनीति नेतृत्वका कारण राजनीति अलमलिएको छ । मुलकमा भ्रष्टाचार मौलाएको छ । जनसेवक भनिएकाहरु जनतालाई दास बनाउने धाउन्यमा लागी परेका छन् । सामन्तवादको पुनःजन्म भइरहेको छ । जुन परिवर्तनका अवयवहरुले नेपालको राजनीतिक परिवर्तनलाई मात्रै नभएर कम्युनिष्ट मुलुकहरुमा नयाँ सन्देश दिन सफल भएको थियो । त्यसलाई विर्सिएकाहरुले आजको दिनलाई कसरी सझिरहेका छन् ? जनताले घाम जस्तै छर्लङ्ग देखिरहेका छन् ।

यो दिवशको सार्थकताले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र र संघिएताको अभ्यास भइरहेको छ । जसको जगमा हालका उपराष्ट्रपति, नन्दकिशोर पुन पासाङ, उर्जामन्त्री वर्षमान पुन, अनन्त, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा प्रभाकर, कृष्णबहादुर महरा, देव गुरुङ, चन्द्र प्रकाश खनाल, रामबहादुर थापा बादलसम्म त्यहि जनयुद्धले उत्पादन गरेका हुन् ।

जनयुद्धले जनताको शासन स्थापित गर्ने प्रयत्न गरिरहदा राजासंग मिलेर आतंककारी घोषणा गर्दै टाउकाको मोल तोकेकाहरुसंग माओवादी नेर्तत्वले घाँटी जोडेर प्राप्त उपलब्धि समेत गुमाईरहेको छ भने माओवादीलाई राज्यको विकल्प सोच्ने स्थितिमा लैजाने, देशलाई स्वतन्त्र बनाउने र निरंकुशताबाट निकास निकाल्नका लागि आधा पेट खाएर युद्धलाई सार्थक्तामा पु¥याउने जनमुक्ति सेनाहरु उपलब्धि विहिन भएर पेटका लागि खाडी मुलुक छिर्नुको निरिहता भोगिरहेका छन् ।

यो वर्तमान अवस्थाबाट पार पाउनका लागि माओवादी नेतृत्व थुम्कासंग पौठेजोरी खेल्ने होईन नयाँ शिराबाट सगरमाथाको उचाई चुम्न जरुरी छ । नत्रभने जनताले थुक्नुको विकल्प नेतृत्वसंग छैन ।

 

 


Thali Mobile Pvt.Ltd.