काठमाडौं, २९ जेठ । प्रतिनिधिसभा बैठकमा शुक्रबार बजेटको पारदर्शिता, किसानका समस्या, साइबर ठगी, सार्वजनिक शौचालयको अभाव र सीमा कूटनीतिसम्मका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अर्थ मन्त्रालयबाट चुहावट भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गर्न माग गरे । संसद्मा टेबल भइसकेको विषय परिवर्तन हुनु सामान्य घटना नभएको भन्दै उनले यसको सूक्ष्म अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुराना फाइल खोल्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै पुनले आफू अर्थमन्त्री भएका समयदेखि नै सबै फाइल खोल्न चुनौती दिए । पुरानाले गल्ती गरेको भन्दै नयाँले पनि गल्ती गर्न नपाइने उनको भनाइ थियो । उनले तत्काल संसदीय छानबिन समिति गठन गरेर वास्तविकता सार्वजनिक गर्न माग गरे ।
यता राप्रपा सांसद ताहिर अलि भाटले किसानहरूले खेतीको मुख्य सिजनमै डिएपी मल नपाएको भन्दै सरकारको आलोचना गरे । विभिन्न जिल्लाबाट मल अभावको गुनासो आइरहेको बताउँदै उनले कृषि मन्त्रालय र कृषि समितिलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए ।
भाटले बजेटले साना किसानलाई बेवास्ता गरेको आरोप लगाउँदै ठूला किसान र कृषि माफियालाई फाइदा पुग्ने व्यवस्था सच्याउन माग गरे । साना किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी बजेट पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले बढ्दो साइबर अपराधप्रति चिन्ता व्यक्त गर्दै स्क्यामरले ठगी गरेको रकम फिर्ता हुने व्यवस्था गर्न सरकारसँग माग गरिन् । ह्वाट्सएप ह्याक गरेर वा विभिन्न लिङ्कमार्फत अनधिकृत पहुँच हासिल गरी भइरहेको ठगी नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने उनको भनाइ थियो ।
यसका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई थप सशक्त बनाउनुपर्ने र नागरिकको वित्तीय साक्षरता बढाउन आवश्यक रहेको उनले बताइन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्री सुधन गुरुङको पुनर्नियुक्तिप्रति आपत्ति जनाए । सम्पत्ति शुद्धीकरणलगायतका आरोप लागेका र राष्ट्रिय मानव अधिकार आयोगले समेत दोषी ठहर गरेको व्यक्तिलाई पुनः संवेदनशील जिम्मेवारी दिनु गलत भएको उनको तर्क थियो ।
सरकारले दोषीलाई कारबाही गर्नुको सट्टा पुरस्कृत गरिरहेको आरोप लगाउँदै उनले सुशासनको नारा र व्यवहारबीच ठूलो अन्तर देखिएको बताए । सरकार आफैँ धामी र आफैँ बोक्सी बनेको जस्तो अवस्था देखिएको उनको टिप्पणी थियो ।
यसैबीच रास्वपा सांसद आशिका तामाङले राजमार्गमा सार्वजनिक शौचालयको अभावले यात्रुहरू समस्यामा परेको बताइन् । पृथ्वी राजमार्गमा यात्रा गर्दा शौचालय नपाएर यात्रुहरू झाडीतर्फ जान बाध्य हुने अवस्था रहेको उल्लेख गर्दै उनले पर्याप्त सार्वजनिक शौचालय निर्माण गर्न सरकारसँग माग गरिन् ।
राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणका क्रममा सीमा विवादका विषय स्पष्ट रूपमा उठाउन सुझाव दिइन् । भारत भ्रमणका क्रममा सीमा सम्बन्धी विषय पर्याप्त रूपमा नउठाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको विषय कूटनीतिक तहमा स्पष्ट रूपमा राख्नुपर्ने उनको भनाइ थियो । सीमा व्यवस्थापन र सीमा विवाद फरक विषय भएकाले सरकारले यसबारे स्पष्ट धारणा बनाएर छिमेकी मुलुकसँग संवाद अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।
संसद्मा शुक्रबार उठेका यी विषयहरूले बजेटको पारदर्शितादेखि किसानका समस्या, साइबर सुरक्षा, सार्वजनिक पूर्वाधार र राष्ट्रिय हितसँग जोडिएका कूटनीतिक सवालसम्मका मुद्दा एकैसाथ बहसको केन्द्रमा रहेको देखाएका छन् ।
